उत्तर कोरिया प्रेरणास्रोत भएको बताए………..

३० असार २०७५,  काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणास्रोत भएको बताएका छन् । उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए । देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’ उनले भने । उनले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशासमेत व्यक्त गरे। गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतका क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको आफूले सुनेको उल्लेख गर्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरू इच्छुक रहेको बताए । राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धबारे चर्चा गर्दै यसलाई थप उचाइमा पु‍र्याउनुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताएका थिए । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताए । केही महिनाअघि राजधानी काठमाडौंमा श्रम स्वीकृतिबेगर रेस्टुराँ चलाएर बसेका उत्तर कोरियाली नागरिक गिरफ्तार भएका थिए ।राजदूत हकले सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुको राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई अनुरोधसमेत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार