ठाकुर र महतोबीच सहमति जुटाउन प्रयास…………

३० असार २०७५,   काठमाडौं- राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताका आकांक्षी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोलाई एकाआपसमा सहमति गर्न पार्टी अध्यक्ष मण्डलले आगामी बुधबारसम्मका लागि समय तोकेको छ। शुक्रबार बसेको अध्यक्ष मण्डल बैठकले संसदीय दलको नेतामा ठाकुर र महतोबीच सहमति जुटाउन दिनभर प्रयास गरेको थियो तर दुवै नेताले अडान नछाडेपछि बुधबारसम्म सहमति खोज्नका लागि समय दिइएको पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष मण्डल सदस्य शरत्सिंह भण्डारीले सहमतिबाटै संसदीय दलको नेता चयन गर्न बुधवारसम्म समय दिने निर्णय शुक्रबारको अध्यक्ष मण्डल बैठकले गरेको बताए । उनले भने, ‘सहमतिबाट दलको नेता चयन गर्न समय अभाव भएकाले बुधबारसम्म समय थप गर्ने निर्णय गरिएको छ । त्यस बेलासम्म सहमति जुटाउँछौं ।’ बुधबार बस्ने राजपा संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने कार्यक्रम तय भएको पनि उनले बताए । ‘बुधबारसम्म पनि सहमति नजुटे चुनावबाट दलको नेता चयन गर्ने तयारी भएको राजपा नेताहरूले बताए ।स्रोतका अनुसार दुवै नेता सहमतिबाटै संसदीय दलको नेता बन्न चाहेका छन् । यसका लागि उनीहरूले पार्टीभित्र लबिङसमेत शुरू गरेका छन् । राजपाका अर्का एक नेताले भने, ‘ठाकुरको प्रस्तावमा महतो संसदीय दलको नेता बन्न चाहन्छन् भने ठाकुर सबैको आग्रहमा त्यो जिम्मेवारी लिन खोजेका छन् ।’ महतो पक्षधर नेताहरू स्वास्थ्यका कारण ठाकुर दलको नेतामा चयन हुन उपयुक्त नहुने सुझाव दिएका छन् । यता ठाकुरनिकट नेताहरू वरिष्ठता र राजनीतिक अनभुवका कारण ठाकुरको विकल्प नै नभएको धारणा राख्दै आएका छन् । संसदीय दलको नेतामा ठाकुर कि महतो भन्नेमा अध्यक्ष मण्डलका अन्य सदस्यहरू नै विभाजित छन् । भण्डारीले महतोलाई साथ दिएका छन् भने अन्य सदस्यहरूले ठाकुरलाई साथ दिएका छन् । अध्यक्ष मण्डलका बहुमत सदस्यहरू ठाकुरको पक्षमा रहे पनि सत्र सदस्यीय राजपा संसदीय दलमा महतो बहुमतमा रहेको महतोनिकट नेताहरूले दाबी गर्दै अएका छन् । राजपाका एक नेताका अनुसार शनिबार पार्टी संसदीय दलको बैठक बस्ने भए पनि नेता चयन गर्ने विषयमा कुनै निर्णय गरिने छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार