अझै भएन सरकार र डा.केसीबीच वार्ताको पहल, जीवनरक्षाका लागि माइतीघरमा विरोध प्रदर्शन हुदै

  बगैँचा सम्वाददाता

काठमाडौँ

जुम्लाबाट अनशनरत अवस्थामै सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएका डा. गोविन्द केसीसँग २ दिन भइसक्दा पनि सरकारले वार्ता गर्ने बताए पनि वार्ता अघि बढ्न सकेको छैन। १५औं अनशनका लागि जुम्ला पुगेका केसीलाई बिहीबार सरकारले सैनिक हेलिकप्टरबाट काठमाडौ ल्याएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमै अनशनमा छन् । आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । सरकारले जुम्लामा दमन गरेको भन्दै केसीले विरोध जनाएका छन् । उनले औषधि लिन र स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् । बिहीबार रातिदेखि नै उनको रक्तचाप, मुटुको चाल, ईसीजी, स्याचुरेसनलगायत परीक्षण हुन सकेको छैन । जुम्लाका स्थानीयलाई दमन गरी सरकारले आफ्नो अपहरण गरेको भन्दै केसीले अविलम्ब छानबिनसहित दोषीमाथि कारबाही माग गरेका छन् ।२०६९ असार २१ मा पहिलोचोटि आमरण अनशन बसेका केसीको ११औं अनशन २३ दिनसम्म चलेको थियो ।

सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीका मागबारे पार्टीमा आन्तरिक छलफल भइरहेको बताए । वार्ता सहज पार्न चिकित्सा शिक्षा विधेयक संसद्मा अघि बढाउने प्रक्रिया पनि ८/१० दिनका लागि पर सारिएको उनले बताए । देउवा र राजपा नेताले भेटे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगी डा. केसीलाई भेटेका छन् । उनले चिकित्सकहरूसँग केसीको स्वास्थ्यस्थितिबारे जानकारी पनि लिए । देउवाले केसीका मागप्रति पार्टीका तर्फबाट ऐक्यबद्घता जनाएका थिए । कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ । नेविसंघले यसअघि केसीको पक्षमा राजधानीमा जुलुस निकालेको थियो । कांग्रेस नेता अर्जुननरसिंह केसी पनि डा. केसीलाई भेट्न अनशनस्थल पुगेका थिए । शुक्रबारै राजपा अध्यक्ष मण्डलका सदस्यहरू महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवले डा. केसीसँग भेटी मागप्रति ऐक्यबद्धता जनाए । अभिनेत्री मनीषा कोइरालाले पनि केसीलाई भेटी उनका मागमा समर्थन जनाएकी छन् ।

२२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको माग सुनुवाइ एवं जीवनरक्षाका लागि सरकारलाई दबाब दिन माइतीघर मण्डलामा आज विरोध प्रदर्शन हुने भएको छ । माइतीघरमा मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्र आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र सर्वसाधारण उपस्थित हुने डा केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिनुभएको छ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार