डा. केसीको समर्थनमा प्रदर्शन पूर्व प्रधानमन्त्री, प्रधानन्यायाधिश देखि कलाकारसम्म

  बगैचा सम्वाददाता

काठमाडौं

चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा  काठमाडौमा प्रदर्शन भएका छन्। शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन सुरु भएको हो। प्रदर्शनमा पूर्व प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, लेखक देखि कलाकार र सर्वसाधारणसम्म सहभागी छन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवनरक्षा र मागहरुको सम्बोधनका लागि सरकारलाई दबाव दिन उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। पूर्व प्रधानमन्त्री बावुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, लेखक खगेन्द्र संगौला, नयाँ शक्तिकी नेतृ हिसिला यमी, विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, कलाकार मनिषा कोइराला, करिष्मा मानन्धर, बिश्लेषक श्याम श्रेष्ठ, अधिकारवादी कृष्ण पहाडी, प्रा. केदारभक्त माथेमा सहभागी प्रदर्शनलाई चिकित्सक, नर्स, कानुन व्यवसायी लगायत विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाएका छन्।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’, डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।

उता चिकित्सकहरुले २२ दिनदेखि अनसनरत डा. केसीको अवस्था गम्भीर हुँदै गएको बताइरहँदा  डा.गोविन्द केसीले भने कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा नलिने अडान लिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार