कार्यक्षेत्रमा मारिका सैनिकका परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने

  बगैचा सम्वाददाता

काठमाडौं

कार्य क्षेत्रमा मृत्यु भएका सैनिकका परिवारले सात वर्षसम्म पूरा पारिश्रमिक पाउने भएका छन् । हिजो उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराएका छन् । हिजो सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको जानकारी दिए । गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको थियो । त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए । कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ । त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार