सरकार र डा.केसीबीच भएको सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

  बगैचा सम्वाददाता

काठमाडौ

सरकार र त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएको सहमति तत्काल कार्यान्वयन हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका डा. केसीलाई प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका हुन् । डा. केसी र उहाँका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनमा भइरहेको प्रगतिबारे शिक्षामन्त्रीसँग जानकारी लिने आश्वासन दिएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिएका हुन ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आउनु भएका डा. केसीसँग सरकारले गत १० गते ९ बुँदे सहमति गरेको थियो । सोही सहमति अनुसार अघि बढाइएको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन छ । प्रतिनिधि सभाले विधेयक दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएपनि समितिले अझै बैठक बोलाएको छैन । प्रधानमन्त्री ओलीसँगको छलफलमा यस पटक पनि आफूले उठाएका माग सम्बोधन नभए १६ औं पटक अनसन बस्न तयार रहेको बताए ।  डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन अनशनमा बस्ने चेतावनी समेत दिएका छन् ।  गत मङ्गलबार पत्रकार सम्मेलन गरी आफ्नो माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै डा. केसीले गुनासो गरेपछि प्रधानमन्त्रीले छलफलका लागि आज बोलाउनुभएको डा. सिंहले जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनशन बस्नुपर्ने अवस्था नआउने बताएका थिए।  दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको सहमतिपत्र अनुमोदन गरेर संसदमा पेश गर्न आग्रह गरेको केसीका सहयोगी डा. सिंहले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार