विश्वकर्मालाई काभ्रे अदालतमा पेश…………

०३ भदौ २०७५,
बनेपा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई काभ्रे प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गरेको छ। काभ्रे प्रहरीले उनलाई संगठित अपराध (आगो लगाएको) अभियोगमा गत वैशाखमै दायर मुद्दाका प्रमुख योजनाकारका रुपमा यतिखेर अदालतमा पेश गरेको हो। काभ्रे, नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेशिनरी तथा सवारी साधनहरुमा २०७५ वैशाख १ गते विहानै आगजनी भएको थियो। यही घटनाका योजनाकारको अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीको भनाई छ। सोही अभियोगमा यस अगावै काभ्रे प्रहरीले नेकपा (विप्लव समूह)का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई पक्राउ गरिसकेको छ। प्रहरीले अनुसन्धानका क्रममा घटनाका मुख्य योजनाकारका रुपमा विश्वकर्मा रहेको खुलेकाले पक्राउ गरेको बताएको छ। अदालतले थप अनुसन्धानका लागि उनलाई ३ दिन हिरासतमा राख्ने अनुमति दिएको छ। सो आगजनीमा रोशीखोला कटुन्जेवेंशीस्थित उद्योगमा पार्किङ गरिएको एक थान ब्याक हो लोडर, एक थान जेनेरेटर र ४ वटा टिपरमा आगजनीबाट पूर्ण क्षति भएको थियो। यस्तै, क्रसर मेसिनमा बमबाट क्षति गराइएको थियो। आगजनीबाट बा४ख २९००, बा५ख ३२८६, बा५ख ३२८८ र बा२क ३२४४ नम्बरका टिपरहरुमा पूर्ण क्षति भएको थियो। उद्योगबाट केही दूरीको खानीस्थलमा रहेको दुई वटा एक्साभेटरहरु पनि आगजनीबाट पूर्ण क्षति भएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार