रसुवागढी नाकामा रोकियो अर्बौंको सामान…………

४ भदौ, २०७५ रसुवा ।

वर्षाले राजमार्ग तथा पुलमा क्षति पुर्याएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका अर्बौंका सामग्री रसुवागढी नाकामा रोकिएका छन् । एकता व्यापार संघ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार चाडपर्वलार्इ लक्षित गरेर चीनबाट मगाइएको सामान बाटोमा रोकिएको हो । रोडीमेड कपडा, जुत्ता–चप्पल, इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपैयाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी ती सामग्री बिच बाटोमा रोकिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । संघले साउन ११ गतेबाटै ढुवानीमा समस्या आएको भन्दै नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । सडकको अवस्था बुझ्न प्रदेशसभा सदस्य शान्ति थिङको अगुवाइमा व्यापार संघका सबै पदाधिकारी रसुवा पुगी सरोकारवाला निकायसमक्ष ताकेता गर्ने कार्यसमेत भइरहेको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार धुन्चे भार्खुबीच त्रिशूली नदीको दुई स्थान र रसुवागढी नजिकको पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि नेपाली सेनालाई जिम्मा दिइसकेको र नेपाली सेनाको प्राविधिक निर्देशनालयबाट खटिआएका विशेष टोलीले आज बिहानबाटै स्थलगत अध्ययन गरी छिटो काम शुरु गर्ने बताए । यस्तै साउन ११ गते अविरल वर्षाले टिमुरे घट्टेखोलामा क्षति भएको पक्की पुलको मर्मत कार्य भने ४० प्रतिशत पूरा भएको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिए । स्याउ बोकी आएको ३०–४० वटा कन्टेनर डिब्बा भने स्याफ्रुबेँशीदेखि ठूलो भार्खुका राजमार्गमा अलपत्र परेको र केही ट्रकले पुनः पल्टी गर्न थालेका छन् । उत्तरी रसुवामा गम्भीर बिरामीको अवस्था आए जिल्ला अस्पताल ल्याउनसमेत समस्या बढेको चालकले बताएका छन् । नियमित यात्रुबाहक बसका यात्रु र मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्री भने पहिरो स्थलबाट मोटर पल्टी गरी आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जानाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार