निर्माणाधीन पूर्वी नहरको सर्वे डिजाइन नै फेल………

०५ भदौ २०७५,
बाँके (अगैया) – सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन पूर्वी नहरको सर्वे डिजाइन नै फेल भएको खुलासा भएको छ। पहिलोपटक गरिएको सर्वे डिजाइन फेल भएपछि आयोजनाले आर्थिक भार थपेर नहरको पुनः नयाँ डिजाइन गराएको छ। उक्त नहर निर्माणका लागि ठेकेदार ‘कालिका कुमार जेभी’ सँग २०७४ साउन १० (२४ जुलाइ २०१७) मा सम्झौता भएको थियो। तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रूपैयाँको लागतमा सम्झौता भएको उक्त काम सम्पन्न गर्न ठेकेदारलाई २८ महिनाको समय दिइएको छ। यसका लागि ठेकेदारले २०७६ कात्तिक २५ गतेभित्र पूर्वी मूल नहरको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ। तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतको पालामा सम्झौता भएको उक्त नहरको सर्वे डिजाइन फेल भएपछि दोस्रोपटक डिजाइन परिर्वतन गर्नुपरेको हो। ठेक्का लगाउने होडले हतारमा गरिएको डिजाइन फेल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार ठेक्का स्वीकृत गराउने आयोजना निर्देशकले १ देखि २ प्रतिशतसम्म कमिसन पाउँछन्। नहरको ठेक्का सम्झौता हुनुअघि सर्वे, डिजाइन र इस्टिमेट गर्ने जिम्मा आयोजनाले एक परामर्शदाता कम्पनीलाई दिएको थियो। उक्त परामर्शदाता कम्पनीले आयोजना कार्यालयसँग भुक्तानी समेत लिइसकेको बताइएको छ। सम्झौता पश्चात सर्वे डिजाइन फेल भएको पुष्टि भएपछि आयोजनाले पुनः नयाँ परामर्शदातालाई डिजाइनको जिम्मा दिएको छ। मूल नहरको सुपरीवेक्षण गर्ने जिम्मा पाएको अर्को परामर्शदाता कम्पनीलाई नै थप बजेट दिएर डिजाइन गर्न दिइएको छ। सर्वे डिजाइन फेल भएपछि पूर्वी मूल नहर निर्माणको काममा झमेला उत्पन्न हुने खतरा देखिएको छ। ‘सर्वे डिजाइन एक खालको थियो, अहिले नयाँ डिजाइन अर्को बनेको छ,’ आयोजनाका एक इन्जिनियरले भने ‘डिजाइन परिवर्तन भएपछि नहरभित्र स्वाभाविक रुपले थप रुख पर्छन्, भविष्यमा ती रुख हटाउँदा पुनः नीतिगत समस्या आउन सक्छ। आयोजनाका साइट इन्जिनियर विजयकुमार झाले पूर्वी नहरको सर्वे डिजाइन परिवर्तन भएको स्वीकार गरे। ‘हतारमा सर्वे गरी डिजाइन गरियो, आखिर फेल नै भयो,’ उनले भने ‘डिजाइन गर्दा अलि गहिराईमा पुगेर अध्ययन गर्नुपथ्र्यो, अहिले पुनः डिजाइन परिर्वतन गरी काम गर्नुपर्ने अवस्था आएको छ, यदी सर्वे डिजाइन अनुसार काम सम्पन्न गरेको भए भविष्यमा राप्तीको पानी चढाउनै कठिन हुन्थ्यो।’ नयाँ डिजाइन अनुसार मुल नहरलाई करिव २ मिटर सम्म गहिरो र केही चौडाई बढाइएको छ। ‘सर्वे डिजाइन अनुसार नै टेन्डर स्वीकृत भएको हो, अहिले डिजाइन परिर्वतन भएपछि गहिराई र चौडाई बढेको छ,’ झाले भने ‘लेभल फरक परेपछि स्वभाविक रुपले अरु कुरा पनि फरक पर्ने नै भयो। सर्वे डिजाइन फेल भएपछि आयोजनाले परामर्शदातालाई लगानी गरेको करोडौं बजेट बालुवामा पानी हालेझै भएको इन्जिनियर बताउँछन्। ‘हतारमा ठेक्का लगाउने आयोजना निर्देशकको कमजोरी छ, अर्कोतिर परामर्शदाता कम्पनीले पनि बिना अध्ययन हतारमा डिजाइन गर्दा फेल हुन पुगेको हो,’ आयोजनाका एक इन्जिनियरले भने। नयाँ डिजाइन अनुसार आयोजना कार्यालयले ३.३ किलोमिटर सम्म मात्र नहरको डिजाइन स्वीकृत गरेको छ। कुल साढे ५३ किलोमिटर मुल नहर निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले हालसम्म ३.३ किमी क्षेत्रसम्म मात्र काम गरेको छ। यसका लागि हालसम्म आयोजना कार्यालयबाट ठेकेदारले ३९ करोडभन्दा बढी रकम पेश्की स्वरुप बुझिसकेको छ। सर्वे डिजाइन परिवर्तन भएको र नहरको ३.३ किमी भन्दामाथीको डिजाइन पनि स्वीकृत नभएपछि काम गर्न केही ढिलाई हुन पुगेको कालिका कुमार जेभीका प्रोजेक्ट म्यानेजर अनिल कार्कीले बताए। ‘ठेक्का सम्झौता भएको ६ महिनासम्म ईआईए स्वीकृत भएन, पहिलेको डिजाइन पनि फेल भयो, त्यसकारण हामीले ३.३ किमी भन्दा अगाडी बढ्न सक्ने अवस्था भएन,’ उनले नागरिकसँग भने ‘३.३ किमीदेखी माथीको डिजाइन अहिले सम्म स्वीकृत भएको छैन ।’ आफ्नो तर्फबाट काममा कुनै कमजोरी नभएको कार्कीले जिकिर गरेका छन् । गुणस्तरका लागि कुनै सम्झौता नगरिएको उनको दाबी छ। डिजाइन परिवर्तन भएपछि नहरमा कटान र पटान धेरै गर्नुपर्ने देखिएको कार्की बताउँछन् । उक्त नहरको सर्वे, डिजाइन र स्टिमेट गर्ने जिम्मा पाएको परामर्शदाताले आयोजना कार्यालयसँग भुक्तानी समेत लिईसकेको बताइएको छ। सर्वे डिजाइन नै फेल भएपछि उक्त कामका लागि आयोजनाले खर्च गरेको हिसाबको छानविन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ। गलत डिजाइन गर्ने परामर्शदाता कम्पनी र आयोजनाका तत्कालिन निर्देशकलाई कारबाही गर्नुपर्ने बताएका छन्। राष्ट्रिय गौरवको यति ठुलो आयोजनाको सर्वे डिजाइन फेल भएर परिवर्तन गरिन्छ भने साना योजनाको अवस्था के होला?’ बैजापुरका स्थानीय चन्द्र थारुले भने ‘सरकारले यसको गम्भिर छानविन गरेर कारबाही गर्नुपर्छ।’ सिटिसिई कालिका जेभीले कमसल निर्माण गरेका कारण आयोजनाको पश्चिम मुल नहर परिक्षणकै क्रममा पटक–पटक भत्किने गरेको छ । गत साउन ७ गते ढकेरीस्थित चंगाई नाला नजिक पश्चिम मुल नहर भत्किएको थियो। त्यसअघि २०७३ असार १४ गते पनि ढकेरीस्थित झिझरी खोला नजिक मुल नहर भत्किएको थियो। आयोजनाको गलत डिजाइन र ठेकेदारको कमसल निर्माणका कारण अगैयास्थित हेडवर्कस्देखी ३५ किलोमिटर सम्मको आईसिबी–१ र आईसिबी–२ ठेक्कामार्फत निर्मित पश्चिम नहर जीर्ण भएको छ। गलत डिजाइनका कारण पश्चिमको जस्तै पूर्वी नहरमा पनि समस्या आउन सक्ने भन्दै स्थानीय बासिन्दा चिन्तित छन्। जिल्लाको अगैयामा रहेको हेडवर्कस हुदै राप्तीपारीको साविक ९ वटा गाविसको ९ हजार हेक्टर क्षेत्रमा पूर्वी नहरबाट सिँचाइ सुविधा पु-याउने लक्ष्य राखिएको छ । सरकारले दोस्रो गुरुयोजना मार्फत सिक्टामा पूर्वी नहर बनाउने योजना थपेको हो । उक्त नहरबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ बैजापुर, वडा नम्बर ५ बिनौना, वडा नम्बर ६ र ७ फत्तेपुर तथा नरैनापुर गाउँपालिकाको १ देखी ६ वडा (गंगापुर, मटेहिया, कालाफाँटा, नरैनापुर, लक्ष्मणपुर र कटकुईया) मा सिँचाइ सुविधा पु-याउने लक्ष्य छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार