बजार बन्द गरायौं, के गर्न सक्छौ सरकार ?……………

२०७५ भदौ ५

काठमाडौं । सरकारी अनुगमनको बिरोधमा तरकारी व्यवसायी आन्दोलनमा छन् । मंगलबार काठमाडौंको मुख्य कालिमाटी तरकारी तथा फलफूल बजार आंशिक रुपमा मात्रै खुलेको छ । केही स्थानीय कृषकबाहेक अन्य ब्यापारीले कालिमाटीमा तरकारी बिक्री वितरण रोकेका छन् । ‘स्टक’मा रहेका आलु, प्याज, कागति र आशिंक रुपमा हरियो तरकारी बेच्ने बाहेक अन्यको उपस्थिति बजारमा देखिँदैन । अनुगमनका कारण मूल्य घटाउनुपर्ने र गुणस्तरमा पनि प्रश्न उठ्न सक्ने देखिएपछि तरकारीको ब्यापार रोकेका छन्, ब्यापारी तथा बिचौलियाले । कालिमाटीकै ब्यापारीहरुले बिक्री वितरण मात्रै रोकेपछि काठमाडौंमा तरकारी आपूर्ति पनि घटेको छ । जसका कारण काठमाडौंमा तरकारी आपूर्ति पनि रोकिएको छ । यसका कारण उपभोक्ता मारमा पर्न स्थिति आएको छ । व्यवसायीले सरकारलाई आफ्नो तागत देखाउने गरी अत्यावश्यकीय वस्तु तरकारीको बिक्री वितरण रोकेका छन् । सरकारले यसकाविरुद्ध कडा एक्सन लिने छाँट भने अझै देखाएको छैन । सरकार अझै ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ । सँधै चापमा रहने कालिमाटी बजार मंगलबार दिउँसो सुनसान देखियो । बजारमा भारी बोकेर गुजारा चलाउनेहरु काम नभएपछि निराश भेटिए । सल्यानबाट हालै काठमाडौंमा भारी बोक्ने कामकै लागि आएका नरभुप ओली र खिमराज केसीले कसरी गुजारा चलाउने भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले महिना मर्नासाथ कमाएको रकम पनि घर पठाएको भन्दै महिनाकै सुआतमा कालिमाटी बजारमा ब्यापार रोकिँदा छाक टार्नै समस्या हुने अवस्था आएको दुखेसो सुनाए । कालिमाटीमा ब्यापारीहरुले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै सञ्चारकर्मीलाई पनि प्रवेश गर्न र फोटो भिडियो खिच्न निषेध गरेका छन् । दिउँसो पुगेको अनलाइनखबरको टोलीलाई पनि पसल बन्द गरेर बसेका ब्यापारीले खिचेको धेरै फोटो धम्की दिएर ‘डिलेट’ गर्न बाध्य पारे । पसल खुल्लै राख्ने केही ब्यापारीले पनि फोटो नखिच्न पटक-पटक चेतावनी दिए । ब्यापारीहरुले बजार बन्द गरेर देखाइदिएको भन्दै अब सरकारले के गर्न सक्ने रहेछ त्यो पनि हेर्ने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार