१४ भदौ २०७५,
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहलाई बिहीबार दिवाभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न साढे बाह्र बजे राष्ट्रपति भण्डारीले दिवाभोजको आयोजना गरेकी छन्। राष्ट्रपति भण्डारीसँग म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार साँझ भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो। मिन्ट मंगलबार काठमाडौं आएका हुन्। बिहीबार र शुक्रबार हुने सम्मेलनमा भाग लिन केही देशका उच्च पदस्थ प्रतिनिधि आइसकेका छन् भने केही देशका उच्च पदस्थ अधिकारी बिहीबार बिहानसम्म आइपुग्ने कार्यक्रम छ। यसैबीच भुटानका अन्तरिम सरकार प्रमुख ल्योन्पो छिरिङ वाङचुकले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन बुधबार बिहान काठमाडौं आइपुगेका वाङचुकले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। भेटमा दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। भेटमा प्रधानमन्त्री ओलीले भुटानमा हुन लागेको आम निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका थिए । छलफलमा बिमस्टेकमा उठान गरिने विषयका बारेमा पनि छलफल भएको बताइएको छ।












