जोशी सर्वोच्च फर्कने

काठमाडौं

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्। नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालत पुगेका जोशीले नागरिकसँग भने, ‘सर्वोच्च त आजै (सोमबार) बाटै आएँ, भोलि (मंगलबार) देखि नियमित काममा फर्कनेछु।’

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए। जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको बताए। ‘म प्रधानन्यायाधीशको कुर्सीमा बसेको त होइन नि’, उनले भने, , ‘नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा मैले नै स्वागत गरेर कुसीमा राखिदिएको हुँ।’ जोशीले मिश्र र आफू सहकर्मी भएकाले कार्यसम्पादमा कुनै समस्या नपर्ने बताए। घरबिदामा रहेका जोशी प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न सोमबार साँझ अदालत पुगेका थिए । मिश्रलाई अंकमाल गर्र्दै प्रधानन्यायाधीशको कुर्सीमा बसाएर उनी फर्केका थिए।

जोशी अदालत फर्कने तयारीसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद भने उनलाई महाअभियोग लगाउने गृहकार्यमा जुटेका छन्। सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएसँगै राजीनामा गर्न जोशीमाथि दबाब परेको छ। जोशीले त्यसलाई बेवास्ता गरेपछि नेकपाका सांसदले महाअभियोगको गृहकार्य थालेको सुनाउँदै एक नेताले भने, ‘हामी उहाँको सहज बहिर्गमन चाहन्छौ। त्यसलाई अटेर गरे महाअभियोगको प्रक्रिया अघि बढ्छ।’ जोशीको नाम गत साउन १८ गते संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार