नेकपाको सांगठनिक एकतामा थप जटिल र ढिलाइ हुँदै…….

०१ असोज २०७५,
काठमाडौं – तीन महिना भित्र सबै तहको एकता टुंगो लगाउने निर्णय गरेको नेकपाले चार महिना पुग्दासमेत तल्लो तहको एकता अझै मिलाउन सकेको छैन। एकताका लागि गठन भएका कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता थप जटिल र ढिलाइ हुँदै गइरहेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक विवादका कारण अधिकांश ठाउँमा कार्यदलले सर्वसम्मत रिपोर्ट बुझाउन सकेका छैनन्। अहिले पनि प्रमुख जनवर्गी संगठनले प्रतिवेदन नै बुझाउन सकेका छैनन्। एकताका लागि गठन भएका कार्यदलले अधिकांश विवाद मिलाउने र बाँकी कतिपय विषयलाई सचिवालयमार्फत टुंग्याउन सकिने ठानेको नेकपाले सबैतिर विवाद देखिएपछि सचिवालय बैठकमार्फत विवाद टुंग्याउने प्रयास गरेको थियो। सुरुमा भदौ पहिलो साता कार्यदललाई प्रतिवेदन पेश गर्न अन्तिम मिति तोके पनि कार्यदलहरूले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले भदौ ८ र ९ गतेका लागि तोकेको स्थायी समिति बैठकसमेत भदौ १८ र १९ लाई तोकेको थियो। त्यसबीचमा पनि सहमति जुटन नसकेपछि स्थायी समिति बैठक बस्न सकेन । एकता प्रक्रियामा सहमति जुटन नसकेपछि अध्यक्ष दाहाल चार दिने भारत भ्रमणमा निस्किए। दाहाल भारत भ्रमणबाट फर्किएपछि गत बुधबार आन्तरिक विवाद मिलाउन भन्दै सचिवालय बैठक बस्यो । बुधबारको बैठकले निर्णय गर्न नसकेपछि विहिबारका लागि सचिवालय बैठक राखिएको थियो। बिहीबारको बैठकले पनि ठोस निर्णय गर्न नसकेपछि आन्तरिक एकिकरण मिलाउने जिम्मा दुई अध्यक्षलाई दिइएको थियो। एकता टुंग्याउन शुक्रबार दुई अध्यक्ष नयाँ माफदण्ड तयार पार्ने र एकतालाई अन्तिमरूप दिने भने पनि शुक्रबार बैठक नै बसेन। बिहीबार बसको बैठकले दुई अध्यक्ष बसेर विवादित विषयको टुंगो लगाउने र आवश्यक परे कार्यदलमा रहेका नेताहरूलाई पनि छलफलमा बोलाएर सचिवालयमार्फत विवाद टुंगो लगाउने निर्णय गरेको थियो। तर दुई अध्यक्षकाबीचमा कुरा हुन नपाउँदै एक जना अध्यक्ष पुष्पकमल दाहाल चार दिने चीन भ्रमणमा गएपछि तत्काललाई एकताको विषय थाती नै रहेको छ। यसबीचमा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत चीन भ्रमणमा छन् । दाहाल चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली राष्ट्रसंघ महासभामा सहभागी हुन एक साता लामो भ्रमणका लागि अमेरिका जाँन लागेका हुन्। एकता टुंग्याउन धौ धौ परिरहेका बेला शीर्ष नेताको विदेश भ्रमणले एकता प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। शनिबार पार्टी कार्यालय धुम्बारहीमा पोस्ट बहादुर बोगटीको स्मृति दिवसमा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता सहज विषय नभएको बताएका थिए। दाहालले भनेका थिए, ‘पार्टी एकता सरलबाट जटिलतातर्फ जाने नियम अनुसार भएकाले यसमा धेरै छलफल गर्नुपर्ने हुन्छ,’ दाहालले भनेका थिए। उनले पार्टी एकताको प्रक्रियामा धेरै ठूला अप्ठ्यारा भोग्नुपर्ने अवस्था सिर्जना हुने पनि बताएका थिए। शनिबार नै दाहालले चीन भ्रमणमा जानुपूर्व त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै आन्तरिक एकता दशै भित्रमा सकिने जनाएका थिए। उनको यो भनाईले पनि सांगठानिक एकता मिलाउन करिब महिना दिन लाग्ने देखिएको छ। दाहालले दशै भित्रमा पार्टी एकता टुंगिने बताएपनि नेकपाका केही शीर्ष नेताहरु दशैसम्ममा एकता टुंगिनेमा आशंका व्यक्त गर्छन्। दुई अध्यक्षले विवाद मिलाउन तत्काल पहल नगरे एकता प्रक्रिया थप लम्बिने र एकता प्रक्रियामा जटिलता थपिदै जाने एक पोलिटब्यूरो सदस्य बताउँछन्। ‘हाल विवाद भएका ठाउँमा विवाद समाधान गरेर एकता टुंग्याउन कम्तिमा अझै डेढ देखि दुई महिना लाग्छ’ ती नेताले भने। नेताहरुको विदेश भ्रमण देखाएर भ्रमणलाई लम्ब्याउन खोजिएको ती नेताले बताए। ‘अहिल्यै विवाद मिल्ने सम्भावना छैन, तर शीर्ष नेताहरुको विदेश भ्रमण देखाउँदै एकता लम्बिएको देखाउन खोजिएको छ,’ उनले भने। सांगठानीक एकता टुंग्याउन नसक्दा दुई पटक सरिसकेको नेकपाको स्थायी समिति बैठक समेत अनिश्चित बनेको  हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा छन्। श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार चीन गएका हुन्। उनीसँगै पार्टीको केन्द्रीय तहका केही नेता पनि चीन भ्रमणमा छन्। अध्यक्ष दाहाल चार दिने भारत भ्रमणबाट फर्किएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीकै निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार चीनतर्फ उडेका हुन्। दाहाल फर्किने दिन अर्थात् असोज ३ गते स्थायी समिति सदस्य सुवाष नेम्बाङ चीन भ्रमणमा जाँदैछन्। सोही दिन उपराष्ट्रपति नन्दबहादुर पुन पनि चीन भ्रमणमा जाँदैछन् । केहीदिन पहिले मात्र सभामुख कृष्णबहादुर महरा पनि चीन भ्रमण गएर फर्किसकेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार