नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध……..

०४ असोज २०७५, रासस
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई विहिवार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालमा चीन विरुद्धका कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्धता व्यक्त गरे। चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको बताए। केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोग सम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उपराष्ट्रपति पुनले बताए। बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो । काठमाडौं र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आएका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। ‘नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन्’ उनले भने ‘विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ, आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ, नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार