अख्तियार प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम अनुमोदन

  बगैचा सम्वाददाता

काठमाडौ

८ महिनादेखि नेतृत्वविहीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेतृत्व पाउने भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले अख्तियार प्रमुखमा घिमिरेको नाम सर्वसम्मत अनुमोदन गरेको हो । घिमिरेविरुद्ध कुनै उजुरी नपरेपछि समितिले आज छलफलका लागि बोलाएको थियो । बैठकमा घिमिरेले आयोगको भावी रणनीति र कार्यदिशाको बारेमा प्रस्तुती तथा आफ्नो नयाँ कार्ययोजना बारेमा समितिमा जानकारी गराउनुभएको थियो । योग्यता, क्षमता र अनुभवको आधारमा घिमिरे योग्य रहेको ठहर गर्दै सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गत माघ दोस्रो साता देखि अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेपनि संवैधानिक परिषद्ले घिमिरेलाई गत भदौं २० गतेमात्र प्रमुखमा सिफारिस गरेको थियो । भ्रष्टचारबारे अनुसन्धान गर्दै दोषीलाई कारवाही सिफारिससम्मको अधिकार पाएको संवैधानिक आयोग, नेतृत्वबिहीन भएपछि गत चैत्रबाट केही सुस्ताएको छ । तात्कालिन प्रमुख आयुक्त दीप बस्न्यातले उमेर हदका कारण अवकाश पाएपछि अख्तियार झण्डै ८ महिनादेखि नेतृत्वविहीन छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार