स्याफ्रुबेँसी सडकको डिपिआर संशोधनको तयारी……..

०७ असोज २०७५,

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ। नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको छ। ‘पहिरोले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ,’ योजना प्रमुख सुबोधकुमार देवकोटाले भने, ‘पुरानो डिपिआरअनुसार काम हुनसक्ने देखिँदैन।’ डिपिआर संशोधनको तयारी भइरहेको योजना प्रमुख देवकोटाले बताए। उनले भने, ‘हामी संशोधनको तयारीमा लागेका छौं। कहिलेसम्म सकिन्छ भन्न सकिन्न।’ पानी पर्ने क्रम नरोकिएको कारण त्यहाँ जाने अवस्था नरहेको योजनाले जनाएको छ। ‘पानी पर्न रोकिएपछि हामी त्यहाँ जान्छौँ,’ योजना प्रमुख देवकोटाले भने, ‘पहिरो खस्ने क्रम नरोकिँदासम्म डिपिआर संशोधन गर्न सकिँदैन।’ नवनिर्मित सडकका एक दर्जन स्थानमा पहिरो गएको छ। डिपिआर सकिएपछि टेन्डर प्रक्रियामा जाने योजनाले जनाएको छ। असार मसान्तसम्ममा डिपिआर सकाएर साउनमा टेन्डर गर्ने तयारी थियो। आगामी कात्तिकबाट स्तरोन्नतिको काम अघि बढ्ने गरी तयारी थालिए पनि डिपिआर पूरा नभएपछि काम पछि धकेलिएको छ। नेपाली सेनाको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले निर्माण गरेर गत जेठमा योजनालाई ट्रयाक हस्तान्तरण गरेको थियो। २०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्रयाक खोलिएपछि केही दिन सवारीसाधन सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकताको सडक आयोजना हो। राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६१/६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना २०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति भइसक्नुपर्ने उल्लेख छ।

सबैभन्दा छोटो मार्ग

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटरको दूरी तय गर्नुपर्छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटरमात्रै छ। पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन। मैलुङ­–स्याफ्रुबेँसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार