आइपुग्यो जनकपुरमा रेल, महिनाभित्र ब्रोडगेजमा सञ्चालन आउने

  बगैचा सम्वाददाता

काठमाडौ

भारतको जयनगरबाट जनकपुरमा आज ब्रोडगेज रेल आइपुगेको छ । ब्रोडगेज रेलवेको भार परीक्षणका लागि जयनगरबाट आज बिहान जनकपुरमा ब्रोडगेज रेल आएको हो । जयनगर जनकपुर रेलसेवा अब दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी (डब्बा) सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ। सम्झौता भएको एक वर्षपछि निर्माण कार्य सुरु गरेको भारत सरकारले जयनगर–जनकपुर–कुर्था खण्ड ३५ किलोमिटर रेलमार्ग मंसिर मसान्तभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको थियो। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभाग बताएको छ । नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणक्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो। जलपाइगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगबेनी–विराटनगर १७.६५ किलोमिटर, जयनगर–जनकपुरधाम–बर्दिबास ६९ किलोमिटर, नौतुना–भैरहवा १५.३ किलोमिटर र रुपैडिहा–नेपालगन्ज १२.११ किलोमिटर रेलमार्ग भारत सरकारले निर्माण गरिदिने सम्झौता भएको थियो। पाँच सय ४८ करोड भारतीय रुपैयाँ (करिब ८ सय ७७ करोड नेपाली रुपैयाँ) लागतमा निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गको काम दुई चरणमा भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्था स्टेसनसम्म ३५ किलोमिटर रेलमार्गको काम अन्तिम चरणमा पुगेको छ। कुर्थाबाट भंगहासम्म १७ किलोमिटर खण्डको ७५ प्रतिशत काम सम्पन्न भएको साइट इन्जिनियर ओझाले बताए। भंगहादेखि बर्दिवाससम्म अर्को १७ किलोमिटर रेलमार्ग निर्माणका लागि नेपाल सरकारका तर्फबाट रेल विभागले जग्गा अधिग्रहणको काम गरिरहेको छ।
१९९४ सालमा नेपाल सरकार र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको सम्झौताअनुसार महोत्तरीको वनबाट सालको काठ भारत ओसार्न जयनगर–जनकपुर–भंगहा ६९ किलोमिटर रेल सञ्चालन गरिएको थियो। उक्त वन समाप्त भएपछि २००७ सालदेखि मालवाहक रेल यात्रु ओसार्ने बोगी जडान गरी सञ्चालनमा ल्याइएको ओझाको भनाइ छ। सुरुमा कोइला इन्जिनबाट सञ्चालित उक्त रेल २०५१ सालदेखि डिजेल इन्जिनबाट चलाउन थालिएको थियो।पर्साको रक्सौल खण्डमा मुलुककै पहिलो रेल चले पनि जयनगर–जनकपुर रेल लामो समयसम्म मुलुककै एकमात्र रेलको परिचय बोकेको छ। २०७१ माघमा न्यारोगेज रेलमार्ग बन्द गरी ब्रोडगेज निर्माण कार्य सुरु गरिएको थियो। दुई मुलुकबीचको समझदारी अनुसार आगामी मंसिरसम्म ब्रोडगेज रेल सञ्चालनमा आए यो नेपालकै पहिलो ब्रोडगेज रेलमार्ग हुनेछ । जोगबनी–विराटनगर खण्डमा पनि रेलमार्ग निर्माणको काम अघि बढेको छ।
जयनगर–कुर्था खण्डको ३५ किलोमिटर खण्डमा पाँच स्टेसन र तीन हल्ट राखिएको छ। जयनगर, इनर्वा, खजुरी, वैदेही र कुर्थामा स्टेशन तथा महिनाथपुर, देउरीप्रवाहा र जनकपुरधाममा हल्ट निर्माण गरिएको छ। यो खण्डमा सानो–ठूलोगरी ५६ वटा पुलपुलेसा निर्माण भएको ओझाले बताए। उनका अनुसार पहिलो चरणमा रेलसेवा सञ्चालन गर्न ३५ किलोमिटरमध्ये ३२ किलोमिटर रेलमार्ग पूर्ण तयार भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार