सवारी चापले बेनी–जोमसोम सडक ठप्प ………..

मुस्ताङ भ्रमणमा जाने पर्यटकका सवारी संख्या अत्याधिक बढेपछि स्तरोन्नति भैरहेको बेनी–जोमसोम सडकमा घन्टौं ट्राफिक जाम हुने गरेको छ । अक्करे भीरको साँघुरा र पहिरोग्रस्त सडक पनि स्तरोन्नति गर्न भित्ता काट्ने र डिल तर्फ वाल उठाई फिलिङ गर्ने काम भैरहेकामा क्षमता भन्दा बढी सवारी साधन भित्रिए पछि दोहोरो सवारी पास हुन नसक्दा घण्टौं जाम हुने गरेको हो । मुस्ताङ जाने र तत्काल फर्कने भएकोले सडकमा दोहोरो सवारी जाम बढी भएको प्रहरीले जनाएको छ । सडकको बेगखोला, भीरकाटे, तातोपानी, घन्टेखोला दानाको रुप्से छहरा, अन्धगल्छी र बाँदरजुँग भीर क्षेत्रका साँघुरो सडक क्षेत्रमा बढी जाम हुने गरेको घाँसा प्रहरी चौकीका ईन्चार्ज सई गोपाल खत्रीले जानकारी दिनुभयो । ‘दशैंको टीकाकै दिनदेखी मुस्ताङ्ग आउने पर्यटक बढेका छन । आईतबार र सोमबार त अधिक नै चाप भयो’ घाँसा प्रहरी चौकीका ईन्चार्ज सई गोपाल खत्रीले भन्नुभयो, ‘म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रे र रुप्से छहरा छेउमा पहिरोले सडक साँघुरो हुँदा यातायात वन वे भएकोले घन्टौं जाम भयो । जाम खुलाउन राती १ बज्यो । राती यात्रुले सास्ती पाए ।’ बाढी पहिरोले क्षतिग्रस्त र साँघुरा बनेका सडक खण्डमा गाडी दोहोरो पास नहुने र कतै सडक छेउमा ठूला गाडी पाकिङ्ग नहुँदा दैनिक घन्टौं जाम हुने गरेको हो । बस्ती नभएको जंगल क्षेत्रमा घन्टौं गाडी जाम हुँदा यात्रुले सास्ती पाउने मात्र नभएर समयमा गन्तब्यमा पुग्न नसक्दा बास पाउन समेत समस्या हुने गरेको प्रहरीले जनाएको छ । दशैंको लामो विदा मनाउन मुलुकभरका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । दशैंको लामो बिदा मनाउन छिमेका, म्याग्दी, बाग्लुङ्ग, पर्वत मात्र होईन पोखरा, काठमाडौं, बुटवल, हेटौंडा, विराटनगर लगायत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । मोटर बाटोको सुगमताले दशैंको टीका लगाउन नपाएका र लामो बिदा मनाउन सहरका कर्मचारी, ब्यवसायी, सञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा बढी आएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार