प्रधानमन्त्रीको स्वास्थ्य स्थिर……….

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्। सोमबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दासको टोलीले गरिरहेको छ। प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित भएको चिकित्सकले बताएका छन्। उनलाई सोमबार बिहान ४:३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। आज बिहान सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका थिए। उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने बताए। ११ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यस्थिति आफैमा संवेदनशिल छ। उनी शनिवार आयोजित चियापान कार्यक्रममा सहभागि भएका थिएनन् भने आइतवार मन्त्रिपरिषद बैठकमा केहि क्षणमात्र सामेल भएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार