भिभिआइपी सवारीमा जनतालाई सधै सास्ती……..

काठमाडौं – जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ । भ्रमणक्रममा हुने जाम सर्वसाधारणको टाउको दुखाइ बन्दै आएको छ । तर, भ्रमण सकिएपछि जामको सास्तीबारे कुरा सेलाउने गर्छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भ्रमणमा निस्केसँगै फेरि भिभिआइपीका कारण हुने जामबाट जनताले सास्ती पाएको कुरा फेरि चर्चामा आएको छ । सोमबार बिहान ११ बजे शीतल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा निस्केकी थिइन् । राष्ट्राध्यक्षको औपचारिक भ्रमण भएका कारण सवारी अवधिसम्मका लागि ट्राफिक होल्ड गरिएको थियो । ट्राफिक रोकिँदा सर्वसाधारण समस्यामा परेका थिए। राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्व (भिभिआइपी)को सवारीलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले यसरी नै बारम्बार सास्ती खेप्दै आइरहेका छन् । राष्ट्रप्रमुखको स्वदेश या विदेश भ्रमणका क्रममा सडक खाली गरिँदा ट्राफिक लामो समयसम्म अस्तव्यस्त हुँदा सर्वसाधारण जामको सास्ती भोग्दै आएका छन्। सोमबार राष्ट्रपतिको औपचारिक भ्रमणका कारण दिनभरजस्तै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो । राष्ट्रपतिलाई बिदाइ गर्न उपराष्ट्रपति, सभामुखलगायतका विशिष्ट व्यक्ति विमानस्थलसम्मै पुगेका थिए । जसकारण उपत्यकाका सडक बिहान १० बजेदेखि मध्याह्न १ बजेसम्म अस्तव्यस्त बनेका थिए। राष्ट्रपति भण्डारीको सवारी मार्ग रहेको शीतल निवास, बालुवाटार, गैह्रीधारा, भाटभटेनी, ज्ञानेश्वर, गौशाला हँुदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म सवारीसाधनको लाम लागेको थियो । राष्ट्रपतिलाई बिदाइ गर्न विमानस्थल पुगेका उपराष्ट्रपतिको सवारीले जामको अवधि थप लम्बिएको थियो । पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले भिभिआइपीको सवारी हुँदा सडक नै खाली गर्ने परम्परा गलत रहेको बताउँछन् । राष्ट्रप्रमुखको सवारी हुँदा सडक नै बन्द गर्ने परम्पराबाट जनताले अपमानबोध गर्ने गरेको उनको अनुभव छ । ‘जनतालाई खिन्न बनाउने यस्तो अनावश्यक परम्परामा बन्देज लगाउनुपर्छ,’ उनले भने। राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्वको सवारीको समयमा हुने ट्राफिक जामको व्यवस्थापनका लागि छुट्टै कार्यनीति ल्याउनुपर्ने श्रेष्ठको भनाइ छ । ‘सकभर सवारी छोटो बाटोबाट हुनुपर्छ । अनि जाम कम हुने सम्भावना रहन्छ,’ उनले भने, ‘मिश्रित सडक भएकाले नै समस्या आएको हो । त्यसैले हेलिकप्टर प्रयोग गरेर पनि सडकको जाम हटाउन सकिन्छ।’

भिभिआइपी सुरक्षा निर्देशिका नै फेर्नुपर्ने

अतिविशिष्ट र विशिष्ट पदाधिकारीको सुरक्षासम्बन्धी निर्देशिका २०७० ले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतको राजकीय, औपचारिक, अनौपचारिक भ्रमणका आधारमा सवारी प्रबन्धको व्यवस्था गरेको छ । सोहीअनुसार सेना, सशस्त्र र नेपाल प्रहरी मिलेर सवारी व्यवस्थापन गर्दछन् । निर्देशिकाअनुसार राष्ट्रपतिको सुरक्षा र सवारी दुवैको नेतृत्व नेपाली सेनाले गर्दै आइरहेको छ । निर्देशिकाअनुसार राष्ट्रपतिको राजकीय भ्रमणमा एक घन्टाअगाडि भ्रमण रुटमा पर्ने सडक दुईतर्फी खाली गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण सर्वसाधारणले दुःख पाउने गरेका छन् । अतिविशिष्ट र विशिष्टको सवारीले हैरानी दिएपछि बढेको आलोचना कम गर्न ट्राफिक निर्देशनालयले तीन वर्षअगाडि वैकल्पिक प्रावधान प्रस्ताव गरे पनि निर्देशिका संशोधन भएको छैन । यसबारे जानकार प्रहरी अधिकारीका अनुसार भिभिआइपी र भिआइपीको विदेश भ्रमणमा निवास र विमानस्थल आवातजावत गर्न हेलिकप्टरको प्रयोग गर्न वा एकतर्फी सवारी आवागमन मात्र रोक्नुपर्ने सुझाव ट्राफिक निर्देशनालयले दिएको थियो। पूर्व प्रहरी उपरीक्षक श्रेष्ठले सुरक्षा थ्रेटकै कारणले सडक खाली गर्नुपर्ने भनिए पनि नेपालका राष्ट्रप्रमुखलाई त्यस्तो खतरा नरहेको दाबी गर्छन् । ‘सुरक्षा निकायले विशेष सुरक्षा रणनीति अपनाएर सडक नै खाली गर्ने परम्परा हटाउन सकिन्छ । तर, नेपाली सुरक्षाकर्मीले रिस्क लिन चाहँदैनन् । यसमा स्वयं राष्ट्रप्रमुखले नै चासो दिएमा मात्रै हटाउन सकिएला,’ उनले भने। सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको औपचारिक तथा राजकीय भ्रमणका बेलामा सडक नै खाली गरेर भ्रमण गराउने परम्परा छ । ‘पहिले राजाको सवारी हुँदा सडक ठप्प पार्थे । अहिले जनताका छोराछोरी राष्ट्रप्रमुख बन्दा पनि उस्तै पारा छ,’ ज्ञानेश्वरका रिदम श्रेष्ठले भने, ‘सुरक्षानिकायको स्कर्टिङमा हिँड्ने राष्ट्रप्रमुखलाई जाममा पर्ने सर्वसाधारणले भोग्नुपरेका समस्याबारे के थाहा ।’ राष्ट्रप्रमुखको सवारी हुँदा सडक नै बन्द गर्ने परम्परा हटाउनुपर्ने अधिकांश सर्वसाधारणको माग छ। भिआइपी सवारीका नाममा दिइने सास्तीविरुद्ध पछिल्लो समय सर्वसाधारणले सामाजिक सञ्जालमा आवाज उठाउन थालेका छन्। ट्राफिक प्रहरी भने विशिष्ट व्यक्तिको राजकीय तथा औपचारिक सवारीका बेला सडक खाली गर्नुपर्ने नियम रहेको बताउँछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालले राष्ट्रप्रमुख तथा उच्चपदस्थ व्यक्तित्वको सुरक्षाकै कारणले सडक खाली गराएर सवारी गराउने गरिएको बताउँछन्। ‘सुरक्षा समितिको निर्णयअनुसार नै सडक खाली गराइन्छ,’ उनले भने, ‘भिभिआइपी सवारी हुँदा सुरक्षा संवेदनशीलताका कारण केही समयका लागि बाटो खाली गराएका हौं।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार