विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं……….

१५ कार्तिक २०७५,
काठमाडौं – नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको छ। पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा–फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ। यसअनुसार सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली रहेको रिपोर्टले देखाएको छ। नेपालसँगै अफ्रिकी मुलुक डेमोक्रेटिक रिपलब्लिक अफ कंगो र युरोपेली मुलुक कोसोभो पनि ७९ स्थानमा रहेका छन्। नेपाली पासपोर्टको श्रेणी सबैभन्दा कमजोर अवस्थाको पासपोर्ट रहेको अफगानिस्तानभन्दा ११ स्थानले मात्र माथि हो। ९० औं स्थानमा रहेको अफगानिस्तानी पासपोर्टधारीले ५ मुलुकमा भिसाबिनै प्रवेश पाउँछन् भने २६ मुलुकमा आगमन भिसा पाउँछन् । १६७ मुलुकमा भिसा आवेदन दिएर प्राप्त गरेपछि मात्र प्रवेश अनुमति पाउन सक्छन्। दक्षिण एसियाली मुलुक पाकिस्तान ८९ औं स्थानमा रहेको छ। बंगलादेश ८२, श्रीलंका ८०, भुटान ६८, भारत ६५, मालदिभ्स ५० औं स्थानमा परेका छन्। छिमेकी मुलुक चीन ५५ औं स्थानमा छ। भारतले गत वर्षको तुलनामा आठ स्थान फड्को मारेको छ। एशियाली मुलुक सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशालीमा परेको छ। सिंगापुरको पासपोर्टधारीले कुल १२७ मुलुकमा भिसाबिना यात्रा गर्न पाउँछन्, ३८ मा आगमन भिसा र ३३ मा आवेदन दिएर भिसा प्राप्त गरेपछि मात्र यात्रा गर्न अनुमति पाउँछन्। जर्मनी पनि शक्तिशाली पासपोर्टको पहिलो स्थानमा रहे पनि उसको सिंगापुरको तुलनामा एक देशमा भिसारहित यात्राको अनुमति कम छ। एसियाली मुलुक दक्षिण कोरिया दोस्रो र जापान तेस्रो शक्तिशाली पासपोर्ट भएको मुलुकको स्थानमा परेको छ। संयुक्त राज्य अमेरिका दोस्रो शक्तिशाली पासपोर्ट भएको मुलुकको स्थानमा परेको छ। नेपाली नागरिकले भारतमा यत्रा गर्दा भिसा चाहिंदैन। नेपाली पासपोर्टधारीले भिसाबिनै यात्रा गर्न सक्ने मुलुकमा भारत, पाकिस्तान, सिंगापुर, इन्डोनेसिया, डोमिनिका, गाम्बिया, माइक्रोनेसिया, पेलिस्टाइन, फिलिपिन्स, सेन्ट भिन्सेन्ट एण्ड दि ग्रिनेडाइन्स र हैटी ‐९० दिन) छन्। नेपाली पासपोर्टधारीलाई आगमन भिसा प्रदान गर्ने मुलुकमा बंगलादेश ‐३० दिन), बोलिभिया ‐९० दिन), कम्बोडिया ‐३० दिन), केपी भर्डी, कोमोरोस, इजिम्पट, गिनी बिसाऊ, लाओस् ‐३० दिन), मडागास्कर, मालदिभ्स, माउरिटानिया, माउरिसस ‐६० दिन), मोजाम्बिक, पलाउ ‐३० दिन), रुवान्डा ‐३० दिन), समोओ, सेनेगल ‐९० दिन), सिसेलिस ‐पर्यटक रजिष्ट्रेसन), सोमालिया ‐३० दिन), तान्जानिया, टिमोर– लेस्टि, टोगो ‐७ दिन), टुभालु र युगान्डा छन्। नेपालीले इन्टरनेटमार्फत आवेदन दिएर सम्बन्धित मुलुक पुगेर सिधै भिसा पाउन सक्ने मुलुकमा अजरबैजान, जिबुटी, इथियोपिया, ग्याबोन, केन्या ‐९० दिन), लेसोथो, मलेसिया ‐३० दिन), म्यानमार ‐२८ दिन), कतार ‐३० दिन) र टर्की छन्। बाँकी मुलुकमा नेपाली पासपोर्टधारीले भिसा आवेदन दिएर प्राप्त गरेपछि मात्र यात्रा गर्न सक्छ। नागरिकता योजनासम्बन्धी संस्था हेन्ले एन्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वभरका मुलुकको पासपोर्टबाट भिसासहित र भिसारहित अन्य मुलुकको यात्रा गर्न सकिने मापदन्डका आधारमा विश्वव्यापी पासपोर्ट शक्तिको श्रेणीसम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै आएको छ। उसले आगमन भिसा, इभिसा, आवेदनमार्फत प्राप्त गर्न सकिने भिसासमेतलाई आधार मान्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार