संसदीय टोलीको निजगढ विमानस्थलको ‘एरियल सर्भे……….

२० कार्तिक २०७५
काठमाडाैं – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको टोलीले सोमबार हेलिकोप्टरमार्फत निर्माणाधीन निजगढ विमानस्थलको ‘एरियल सर्भे’ गरेको छ। निर्माणधीन निजगढ विमानस्थलमा रूख कटानका विषयमा विवाद उत्पन्न भएपछि छानबिन गर्न गठित उपसमितिले आकाशबाटै दृश्यावलोकन गरेर जिम्मेवारी पूरा गर्न खोजेको हो। विमानस्थलमा रूख कटानका विषयमा विवाद भएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। टोली दुई घन्टासम्म हेलिकोप्टरबाट निर्माणाधीन विमानस्थलको दृश्यावलोकन गरेर राजधानी फर्केको छ। टोलीमा उपसमिति संयोजक माधवकुमार नेपाल, वनमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उपसमितिका सदस्यद्वय सांसद निर्जला राउत र दिव्यमणि राजभण्डारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहित थिए। सांसद राजभण्डारीले टोली ‘एरियल सर्भे’ गरेर राजधानी फर्केको बताए। टोलीलाई पर्यटन मन्त्रालयले निजगढ विमानस्थल सर्वेक्षणका लागि नेपाली सेनाको हेलिकोप्टर उपलब्ध गराएको थियो । ‘सुरुमा हामी हेलिकोप्टरमार्फत फास्ट ट्र्याक अवलोकन गर्दै अघि बढ्यौं। त्यसपछि निजगढ जंगल, रूख काटिएका स्थान र खाली ठाउँ हेरेर अवतरण नै नगरी काठमाडौ फर्कियौं,’ राजभण्डारीले भने। आफूहरुले विमास्थल निर्माण क्षेत्रमा अवतरण गरेर स्थानीयसँग पनि छलफल गर्नुपर्ने माग राखे पनि दुई घन्टा आकाशमै घुमाएर हेलिकोप्टर फर्काइएको राजभण्डारीले जानकारी दिए। ‘महत्वपूर्ण व्यक्तिसहितको टोली त्यसतर्फ लागेकाले केही उपलब्धिमूलक काम हुन्छ भन्ने ठानेका थियौं, तर यत्तिकै घुमाएर फर्काइयो,’ उनले भने। राजभण्डारीले हेलिकोप्टरमा घुम्दा कुनै ब्रिफिङसमेत नभएको जानकारी दिए। ‘भ्रमण अवधिभर दृश्यावलोकन गर्नेबाहेक कुनै कुराकानी भएन । यसले आवाज विनाको सिनेमा हेरेको सम्झना गरायो,’ उनले भने। सांसद राजभण्डारीले अब गाडी चढेर आयोजनास्थलको अवलोकन गरिने बताए। विमानस्थल निर्माणका लागि पर्यटन मन्त्रालयले वन मन्त्रालयसँग अनुमति मागे पनि वनले अनुमति दिएको छैन। विमानस्थल निर्माणका लागि आवश्यकभन्दा बढी रूख काट्न लागेको भन्दै वन मन्त्रालयले अनुमति नदिएपछि यो विषय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिसम्म पुगेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार