सुनसरी
सुनसरीको दुहबीमा अज्ञात बन्दुकधारीले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेको विरोधमा बिहानै देखि स्थानीयले सरकार विरूध प्रर्दशन गरिरहेको समाचार प्राप्त भएको छ। स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग समेत गर्दै मृतक हुसैनको शव सडकमै राखेका छन् । दुई महिनाअघि हत्या भएका भुटाहाका खुर्सिद अन्सारीको हत्यारा प्रहरीले पत्ता लगाउन नसकिरहेको बेला सोही शैलीमा अर्को हत्याकाण्ड भएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका छन्। दुहबी–९ मा सञ्चालित जय बाबा ईँटा उद्योगका सुपरभाइजर समेत रहेका हुसेनको बुधबार बिहान साढे ५ बजे मर्निङवाकमा निस्कदा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए। प्रशासनले सुरक्षा दिन नसकेको र हुसेनको हत्या भएको २४ घण्टा बितिसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रदर्शन गर्दा दुहबी बजार बिहीबार पनि तनावग्रस्त बनेको छ। कोशी राजमार्गमा पाल टागेर धर्ना दिएका हुसेनका आफन्त र समर्थकहरुले ५ बुँदे माग पुरा नभए सम्म प्रदर्शन जारी राख्ने बताएका छन्।












