२५ नोभेम्बर, हङकङ– पहिलो चलचित्र “द कमाण्डो” बाटै दर्शकहरुको भारी प्रशंसा बटुल्न सफल एक्सन नायक राज कुमार राईले २०१९ भित्रमा अर्को एक्सन नेपाली चलचित्र दर्शकहरु माझ ल्याउँने भएका छन् । आइतबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी सार्वजनिक गरेका हुन ।
मुख्य भूमिका आफ्नै रहने उक्त एक्सन चलचित्रको सबै पक्ष बलिउड र हलिउडको भन्दा कम नरहने बताउँदै निर्माण कार्यमा सहकार्य गर्न समेत उनले इच्छुकहरुलाई आग्रह गरे । २०१९ को अन्तसम्ममा हलमा लगाउँने योजना रहेको उक्त चलचित्र क्यानडा, यू.के., हङकङ हुँदै नेपालका सुन्दर हिमाली क्षेत्रहरुमा समेत छायाँङकन गरिने योजना रहेको उनले बताए । ‘हङकङ मेरो होम कन्ट्री जस्तै हो, किनकी मैले गोर्खा सैनिक हुँदा धेरै जसो योङ एज यही बिताएको छु, मेरो दोस्रो मुभिको प्रोजेक्ट बारे हङकङबाटै पहिलो पटक सार्वजनिक गर्दैछु, र उक्त प्रोजेक्ट कम्लिट भए पछि हङकङबाटै ग्राण्ड प्रिमियर शो पनि गर्नेछु’, राईले आफ्नो योजनाहरु बताए ।
अवकाश प्राप्त ब्रिटिश गोर्खा सैनिक समेत रहेका राज कुमार राई तेक्वान्दो र बडीबिल्डिङ खेल क्षेत्रमा देश तथा विदेशमा समेत परिचित नाम हो । पूर्व नेपाल खोटाङ, बाक्सिला घर भई क्यानडामा स्थायी बसोबास गर्दै आएका तेक्वान्दोका ग्राण्ड मास्टर (सेभेन्थ डान) राईले तीन दिने हङकङ भ्रमणको क्रममा फोरेनर, युनाइटेड लगायतका ६ वटा नेपाली तेक्वान्दो क्लबहरुद्धारा संयुक्त रुपमा आयोजित ‘तेक्वान्दो सेमिनर–२०१८’ मा प्रशिक्षण समेत दिएका थिए । उक्त प्रशिक्षणमा ६ वटै क्लबका करिब ८५ जना मास्टर तथा ब्लाक बेल्टहरु सहाभागी भएको फोरेनर क्लबका प्रेसिडेन्ट मास्टर उत्र शेर राईले बताए ।
ब्रिटिश गोर्खा सैनिक पेशाबाटै तेक्वान्दो खेलमा आवद्ध उनी १९८५ मा हङकङ च्याम्पियनशिप भएका थिए भने अवकाश प्राप्त भएपछि १९९९ मा नेपालको तर्फबाट साफ गेममा गोल्ड मेडल हात पारेका थिए । एशियन, साफ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेमहरुमा दर्जनौं मेडलहरु हाता पार्न सफल उनि हाल क्यानडामा वाई.एम.सी.ए. तेक्वान्दोका प्रमुख प्रशिक्षकका रुपमा कार्यरत छन् ।