२४ फेब्रुअरी, हङकङ– साहित्यिक श्रृंखलाका संयोजक डी.बी.पालुङ्वाका पिता पूर्व शिक्षक, साहित्यकार एवं समाजसेवी स्व. चक्रबहादुर पालुङ्वा प्रति शोकसभा तथा सृजना वाचन गर्दै ८२ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न
उक्त श्रृंखलाको शुरुवातमै ८४ वर्षको उमेरमा ८ फेब्रुअरी २०१९ शुक्रबार असामयीक निधन भएका स्व.चक्रबहादुर पालुङ्वा प्रति शोकसभा आयोजना गरिएको थियो । चित्रकार तथा साहित्यकार रमण गुरुङद्धारा स्व.पालुङ्वाको चिनारी दिएसंगै उपस्थित सबैले १ मिनट मौनधारण गरिएको थियो । चित्रकार दिपेन्द्र राईद्धारा चित्रित स्व.पालुङ्वाको स्केचमा फूलगुच्छा चढाएसंगै श्रृंखलाका संरक्षक तथा साहित्यकार टंक सम्बाहाम्फेद्धारा स्व.पालुङ्वा बारे बोलेका थिए ।
कवि तथा गीतकार मनु कनदङवाद्धारा संचालन गरिएको दोस्रो चरणको कार्यक्रममा पूर्णिमा शाह, दाजु गुरुङ, रमण गुरुङ, चन्द्र मादेन, टोपबहादुर याक्खा लगायतले कविता
वाचन गरेका थिए भने गीतकार रबिन राई र नेपालबाट आएका लोक गायक तथा रचनाकार नेत्र जी पन्तले आफ्ना गीत सुनाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक पारिदिएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा देश विदेशका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।













