विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन…………..

काठमाडौं – सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो। मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो। ललितपुरको नख्खुका भएको बम विस्फोट र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको हो। मंगलबार राति महाशाखाको टोलीले काभ्रको रोशी गाउँपालिकास्थित काफ्ले डाँडाबाट शिव धिमाल र विशाल तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरु ललितपुर तथा काठमाडौंको बसुन्धरामा भएको बम विस्फोटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरुकै सूचनाका आधारमा प्रहरीले डिकेन्द्र राई र नुमबहादुर विकलाई पनि पक्राउ गरेको छ। प्रहरीले विगतमा विप्लव समूहले विस्फोटन गराएका जिल्ला र स्थान तथा उद्योगलाई अनुसन्धानको पहिलो सूचीमा राखेको छ। त्यस्तै सरकारले वार्ता आह्वान गरेका बेला हिरासतबाट छुटेका व्यक्तिका बारेमा सूचना संकलन गरी कारबाही प्रक्रिया अघि बढाएको छ। ‘हामीले उनीहरुका पुराना आपराधिक घटनालाई समेत अनुसन्धानको दायरामा राखेका छौं’, प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने। उनका अनुसार विप्लव समूहका पछिल्ला गतिविधिका बारेमा प्रहरी जानकार छ। ‘विप्लव समूह फागुन चैतलाई संगठन सुदृढीकरण र संगठन सञ्चालन अभियान भनी क्रियाशील भएको सूचना छ। उनीहरुका गतिविधलाई सरकारले रोक लगाएको छ। त्यसकारण अब गतिविधि गर्न दिइन्न’, सुवेदीले भने। प्रहरी स्रोतका अनुसार तराइका जिल्लामा विप्लव समूहको खासै उपस्थिति छैन। संखुवासभा, भोजपुर र उदयपुर फाट्टफुट्ट, सिन्धुपाल्चोक, काभ्रें काठमाडौं र रुपन्देहीमा अली बढी गतिविधि देखिएको छ। त्यसैगरी रोल्पा, रुकुम, जाजरकोट, कालिकोट, मुगु, जुम्ला र सल्यानमा पनि उनीहरुको गतिविधि देखिएको प्रहरी स्रोतले जनाएको छ। कालिकोटमा सो समूहका १३ जना केन्द्रीय सदस्य रहेकाले पनि नेपाल प्रहरी मात्रै होइन, सशस्त्र प्रहरीको उपस्थिति पनि बढाइएको छ। रोल्पा विप्लवकै गृहजिल्ला भएकाले त्यहाँ पनि सुरक्षाकर्मी बढाइएको प्रहरी प्रवक्ता सुवेदीले बताए। सरकारले सो समूहलाई प्रतिबन्ध लगाएपछि पोलिटब्युरो सदस्य मोहन कार्कीसहित २१ जना पक्राउ परिसकेका छन्। यसअघि बम विस्फोट गराएको घटनामा प्रहरीले काठमाडौंबाट विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेललाई पक्राउ गरिसकेको छ। संखुवासभास्थित अरुण तेस्रोमा बम विस्फोट गराउने व्यक्तिहरुको खोजीमा प्रदेश नं. १ को प्रहरीको ध्यान केन्द्रित भएको छ। गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समिति बैठकले विप्लव समूहका नेता कार्यकर्तामाथि फौजदारी अपराध (संहिता) ऐन २०७४ लागु भएपछि वम विस्फोट, तोडफोड, आगजनीलगायत गतिविधिमा संलग्न तथा त्यस किसिमका हिंसात्मक र ध्वंसात्मक गतिविधि गर्न आदेश दिने, निर्देश गर्ने व्यक्तिमाथि फौजदारी अपराध ऐनको दफा १३८, १३९, १५० र १७७ तथा संगठित अपराध ऐनअन्तर्गत कारबाही तथा मुद्दा चलाउन निर्देशन दिएको छ। त्यही अनुसार नेपाल प्रहरीले पहिलो चरणमा सशस्त्र प्रहरीको समेत सहयोग लिएर अपरेसन सुरु गर्ने जनाएको छ। अहिले सशस्त्र प्रहरी बल ७७ वटै जिल्लामा स्थापना भइसकेको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई नेपाल प्रहरीले आवश्यक सहयोग मागेमा तुरुन्तै सहयोग उलब्ध गराउन निर्देशन दिइसकेको छ। प्रहरीको विशेष ब्युरोले अनुसन्धान गर्न आवश्यकताअनुसार सुराकी प्रयोग गरिरहेको छ। प्रहरीले पूर्व लडाकुमाथि पनि अनुसन्धानको दायरा फराकिलो पारेको स्रोतले जनाएको छ। नयाँ कार्यकर्ताभन्दा विस्फोटनमा पूर्वलडाकु सहभागी हुन सक्ने भएकाले उनीहरुको गतिविधि निगरानीमा राख्न थालेको प्रहरी स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार