८५ औं साहित्य श्रृंखलामा कविता राईको आमा र जून

  टोपबहादुर याक्खा

२६ मे, हङकङ– कवि कविता राईको कविता संग्रह ‘आमा र जून’ तथा किरात राई यायोक्खा हङकङको मुखपत्र ‘यलम्बर’ सार्वजनिक संगै साहित्यकारहरुलाई सम्मान, सृजना वाचन तथा समीक्षा गर्दै ८५ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा पारिजात पुरस्कारबाट पुरस्कृत साहित्य श्रृंखलाका संरक्षक समेत रहेका दाजु गुरुङलाई उनको कथा संग्रह ‘टाकीका फूलहरु’ तेस्रो अंक छोटो अवधीमै बजारमा आएको अवसरमा र चित्रकार तथा साहित्यकार दिपेन्द्र राईलाई साहित्य संगै उनको चित्रकलाको सम्मान गर्दै खदा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालका कवि कविता राईको कविता संग्रह ‘आमा र जून’, किरात राई यायोक्खा हङकङको मुखपत्र ‘यलम्बर’, सविता श्रेष्ठको ‘सेतो स्कार्फ’, नीलम कार्की निहारिकाको ‘चीरहरण’, शिव प्रधानको ‘बौलाहीको यात्रा’ लगायत आधा दर्जन पुस्तकहरु सार्वजनिक गरिएको थियो भने कविता राईको कविता संग्रह ‘आमा र जून’ माथि साहित्यकार दाजु गुरुङले बोलेका थिए भने किरात राई यायोक्खा हङकङको मुखपत्र ‘यलम्बर’ माथि साहित्यकार तथा चित्रकार दिपेन्द्र राईले बोलेका थिए ।
कवि पूर्णिमा शाहद्धारा संचालन गरिएको कार्यक्रममा दाजु गुरुङ, पूर्णिमा शाह, लालबहादुर गुरुङ, दिपेन्द्र राई, चन्द्र मादेन, सुनिता गिरी, रमण गुरुङ लगायतले सृजना वाचन गरेका थिए भने साहित्यकार रविन राई र गायिका मणिका पाण्डेले आफ्ना गीतहरु सुनाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा साहित्यिक स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार