समझदारीबाट पछि हटे दुर्भाग्य ……….

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए । पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीकरण गरेका छौं’, उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौं, कुनै न कुनै बहाना खोज्न थाल्यौं भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’ सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति नै भएको उनले दाबी गरे । पछिल्लो समय नेकपाभित्र पार्टीको कार्यदिशालाई लिएर विवाद बढेको छ । पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने कि जनताको जनवाद हुने भन्ने विषयमा विवाद बढेको हो । दाहाललगायत पूर्वमाओवादी नेताहरुले जनताको जनवादलाई कार्यदिशा बनाउनुपर्ने बताउँदै आएका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका पूर्वएमाले नेताहरु जनताको बहुदलीय जनवादका पक्षमा छन् । अध्यक्ष दाहालले एकताका सहमतिलाई गम्भीरताका साथ कार्यान्वयन गरिनेमा जोड दिए । पार्टीले छिटै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी रहेको एकता प्रक्रिया टुंग्याउने प्रयासमा रहेको उनको दाबी छ । ‘पार्टी एकता भनेको बढो सहज, बढो सरल, आनन्दसँग बसे हुने प्रक्रिया होइन’, उनले भने, ‘यो जटिल र चुनौतीपूर्ण प्रक्रिया हो । यसलाई सफल पार्न त्याग, मेहनत, पारदर्शिता, इमानदारी र झन् ठूलो सक्रियता आवश्यक पर्छ ।’ अन्तराष्ट्रिय रुपमा तरंग पैदा गरेको पार्टी एकताले देशमा पनि सकारात्मक तरंग पैदा गरेको अवस्थामा नेपालबाट समाजवाद, समृद्धिको नयाँ मोडल र विचारको नयाँ उचाइ दिन सम्भव रहेको उनको दाबी थियो ।नेकपाको चितवन जिल्ला कार्य समितिलाई एक सय ५५ सदस्यीय बनाएर पूर्णता दिइएको छ । कार्यसमितिमा तत्कालीन माओवादी केन्द्रबाट ७५ जना र तत्कालीन नेकपा एमालेबाट ८० जना सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार