नेकपामा पूर्वएमाले र माओवादीका गुट………

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति तथा मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्। पूर्वएमाले पक्षधर पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने तथा आलोपालो मान्य नहुने बताउँदै आएका छन् भने माओवादी पक्षधर आलोपालो अध्यक्ष र प्रधानमन्त्री सहमति अक्षरशः पालना हुनुपर्ने र वर्तमान मन्त्रिपरिषदको पर्फमेन्स कमजोर रहेको भन्दै पुनर्गठनको आवाज उठाउँदै आएका छन्। यसको पछिल्लो उदाहरण रिपोर्टर्स क्लबमा देखिएको छ। मंगलबार (हिजो) नेकपा नेता (पूर्व माओवादी) देबेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्री र अध्यक्षको सहमति कार्यान्वयन हुनुपर्ने बताएका थिए। नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए। ‘हामी एकताको पक्षमा छौं। एकता रहरको लागि गरिएको होइन। त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ’, उनको भनाई थियो। पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने पनि बताएका थिए। बुधबार रिपोर्टर्स क्लबमै पुगेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेकपामा पूर्वएमाले समूहका नेता रघुवीर महासेठले पौडेलको अभिव्यक्तिलाई काउन्टर दिएका छन्। उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने दाबी गरे। मन्त्रिमण्डल पूनर्गठन हुन्छ भन्ने हल्ला भएको र यो सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह भएको उनको भनाई छ। महासेठले अबको पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री भएको बताउँदै आलोपालो प्रधानमन्त्रीको सहमतिलाई पनि चुनौती दिए। ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन। मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो। अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार