बालुवाखानीबाट झरेकोे लेदोले अस्तव्यस्त पृथ्वी राजमार्ग………..

धादिङ – जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा बालुवाखानीको लेदो सडकमा थुप्रिँदा पानी पर्ना साथ बजार जलमग्न हुन्छ भने सवारीसाधन घण्टौं जाममा पर्छन्। शनिबार पनि बालुवाखानीको लेदो सडकमा थुप्रिँदा बैरेनी बजार जलमग्न भयो। करिब सात घण्टा राजमार्ग ठप्प भयो। राजधानी काठमाडौं हिँडेका र राजधानी हुँदै पूर्व–पश्चिम यात्रामा निस्केका सवारीसाधन रोकिनु प¥यो। सडकमा थुप्रिएको लेदो हटाउन नसक्दा यात्रुहरू घण्टौं जाममा बस्नुप¥यो। एकातिर यात्रामा हिँडेका यात्रु हैरान थिए भने अर्कोतिर बैरेनीका बालुवा व्यवसायी भने खुसी भइरहेका थिए। आफैंले स्काभेटर ल्याएर सडकमा थुप्रिएका बालुवा संकलन व्यवसायीलाई भ्याइनभ्याइ थियो। आफ्नो घरछेउमा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यवसायीमा हानथाप थियो। माटो बगाएर सडकमा थुपारेको भए कसैले वास्ता गर्दैनथ्यो,’ एक स्थानीयले भने, ‘बालुवा थुपारेको भएर व्यवसायी आफैंले स्काभेटर ल्याई सडक खुलाएका छन्।’ बैरेनी बजारमाथि सञ्चालनमा रहेका खानीहरूबाट वर्षाको पानीसँगै बालुवा बगेर राजमार्गमा आउने भएका कारण स्थानीय बालुवा व्यवसायीहरू भने पानी पर्नासाथ चनाखो हुने गर्छन्। बैरेनीबजारदेखि माथिल्लो क्षेत्रमा दर्ता नभएका १० भन्दाबढी बालुवाखानी सञ्चालनमा छन्। राजमार्ग छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडकभन्दामाथि खोलिएका बालुवाखानीका कारण भल–बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याइपु¥याउँछ, जसका कारण यात्रुलाई सास्ती भए पनि स्थानीयलाई भने फाइदा भएको छ। ‘आ–आफ्नो घरको खोल्सा र सडकमा थुप्रिएको बालुवा झिक्न यहाँका स्थानीयलाई तँछाडमछाड छ,’ बैरेनीका एक स्थानीयले भने, ‘घरैअगाडि लाख–लाख थुप्रियो भन्दै आफैं डोजर ल्याएर बालुवा संकलन गर्ने गर्छन्। राजमार्गको आवागमन नै ठप्प हुनेगरी सडकमा भल–बाढी पसेको यो पहिलो पटक भने होइन, वर्षौदेखिको समस्या हो यो। बिहीबार पनि बैरेनीदेखि महेश दोभान बजारसम्म एक किलोमिटर सडक–खण्डमा लेदो थुप्रिएको थियो। गल्छी गाउँपालिका केन्द्र रहेको बैरेनीबजारको दायाँ–बायाँको सडक–खण्डमा भल–बाढी बग्दा सडक खहरे खोलाजस्तै हुने गर्छ। दीर्घकालीन सोचबिना खनिएका सडकबाट वर्षाको बेला गाउँगाउँबाट माटो र ढुंगा बग्दै आएर राजमार्गमा थुप्रिन्छ। हरेक वर्ष सडक निर्माण, स्तरोन्नति र मर्मत सम्भार शीर्षकमा करोडौं खर्च गर्दै आइरहेको गाउँपालिकाले भल–बाढी सीधै राजमार्गमा खस्ने कार्य भने रोक्न सकेको छैन। बैरेनी बजार क्षेत्रमा भल–बाढीले राजमार्गमात्रै होइन बजार क्षेत्रका दर्जनौं घर डुबानमा पर्ने गरेका छन्। यो क्षेत्रमा खोला मिचेर पक्की घर, टहरा, विद्यालय, उद्योगलगायत सयौं संरचना निर्माण गरिँदा पनि स्थानीय सरकार रोकथामका लागि निरिह देखिएको छ। शक्ति र बल मिच्याइँको भरमा खोलाको धार नै परिवर्तन गराइँदा पनि स्थानीय तहले रोकथामका लागि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबी कन्ट्रक्सन एन्ड सप्लायर्सद्वारा सञ्चालित बालुवा खानीबाट आएको लेदोले राजमार्ग पटकपटक अवरुद्ध हुने गरेको छ। अध्यक्षकै संरक्षणमा सञ्चालित यस्ता खानीहरूले गर्दा बर्खा महिनामा पटकपटक लेदो जमेर सडकअवरुद्ध हुने गरेको हो। राजमार्ग छेउछाउ तथा त्रिशुली नदी वरपर अवैध रूपमा सञ्चालित बालुवा खानीहरूले बस्ती नै डुबानमा पार्ने गरेका छन्। बैरेनीसँगै जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमारामा पनि पानी पर्नेबितिकै बालुवाखानीको लेदो बगेर राजमार्ग अवरुद्ध हुने गर्छ। गजुरी गाउँपालिका–६ जहरेमा पनि लेदो जमेर सडक अवरुद्ध हुने गर्छ। कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने सरकारी योजना छ। तर यो क्षेत्रमा १० मिनेट होइन, १०औं घण्टासम्म पनि सवारी आवागमन बन्द हुन्छ। सरकारले राजमार्गमा हुने अवरोध हटाउन अवलम्बन गर्नुपर्ने सुरक्षा कारबाहीसम्बन्धी कार्यविधि बनाए पनि कार्यान्वयन हुन सकेको छैन। कार्यान्वयन हुन नसकेको कार्यविधिमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र उद्धार गर्ने उद्देश्य राखिएको छ। बन्द–हडताल तथा प्राकृतिक विपत्तिका कारण सडक बन्द भए पनि तत्काल खुलाइने जिम्मेवारी पनि कार्यविधिमा तोकिएको छ। तर कार्यविधिमा जे लेखिएको भए पनि आपतकालीन उद्धारका लागि राजमार्गमा खटिएको प्रहरीसँग ‘उद्धार सामग्री’ नै छैन। ‘राजमार्गमा दिनहुँ सवारी जाम, दुर्घटना तथा प्राकृतिक विपत्ति हुने गर्छ,’ ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले भने, ‘तर तुरुन्त उद्धारका हामीसँग उद्धार सामग्रीहरू पर्याप्त छैनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार