दबाबपछि असारभित्रै एकता प्रक्रिया टुंग्याउने बाचा…………..

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरुले विवादमा नआउने गरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरोकारवाला निकायसँग पर्याप्त परामर्श गरेर विवादमा नआउने गरी विधेयकलगायतका क्षेत्रमा कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका हुन्। सरकारको काम कार्वाही राम्रो भएपनि कतिपय विधेयकहरु विवादमा तानिएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई पार्टीका सांसदहरुले ध्यानाकर्षण गराएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। बैठकमा सांसदहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालमाथि पार्टी एकताको काम छिटो टुंगो लगाएर सरकारको काम कार्वाहीलाई अझै सहज बनाउन पनि दवाव दिएका थिए। बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कार्वाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तीमा संचार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए। बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले असार महिनाभित्र पार्टी एकताको बाँकि काम पूरा गर्ने र सरकारको कामकार्वाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका थिए। असार महिनाभित्र पार्टी एकताको बाँकि काम पूरा गर्ने र सरकारको काम कार्वाहीलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता बैठकमा दुवै अध्यक्षले जनाएको पनि प्रमुख सचेतक गुरुङले बताए। प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले बैठकमा पार्टीमा विभाजन आउँछ की भन्ने आशंका नगर्न पनि आग्रह गरेका थिए। नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ। आजको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए। बैठक अन्तरक्रियात्मक भएको र त्यसभित्र पार्टी र सरकार दुवैको बारेमा सांसदहरुले नेतृत्वसँग प्रश्न उठाएको पनि नेता पौडेलको भनाई थियो। नेकपा संसदीय दलको बैठक विगतमा पार्टीका अध्यक्षद्धय ओली र दाहालले व्रिफिङ गरेपछि टुंगिने गरेको थियो। तर यस पटकको बैठक पार्टीका सांसदहरुको सुझाव लिने गरी आयोजना गरिएको पनि प्रमुख सचेतक गुरुङले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार