हेटौंडा जाने छोटो रुट कालोपत्रे अन्तिम चरणमा……….

काठमाडौँ — निर्माण सुरु ६ दशकपछि कान्तिलोक पथको कालोपत्रे बल्ल अन्तिम चरणमा पुगेको छ । राजधानीलाई हटौंडासँग जोड्ने छोटो भरपर्दो माग आर्थिक वर्ष ०७७/७८ मा निर्माण पूरा गरी उद्घाटन गर्ने सरकारको लक्ष्य छ । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष ०७६/७७ का लागि ६० करोड रुपैयाँ बजेट बिनियोजित गरेको छ । कान्ति लोकपथ सडक योजना ललितपुरका सूचना अधिकारी अमिन्द्र खड्का भन्छन्, ‘सडक कटिङ गर्न ठेक्का नगरेमा आगामी वर्षका लागि छुट्याएको बजेटबाट कालोपत्रे गर्न सकिन्छ । यदि गरेमा आर्थिक वर्ष ०७७/७८ भित्र काम पूरा गर्ने योजना छ । त्यसपछि सजिलै सामान ढुवानीका गाडी आवतजावत हुन्छन् ।’ उनका अनुसार मार्गमा सुक्खा र वर्षायाममा पहिरो झर्ने समस्या छ । पहिरो रोकथाम गरी वर्षातका बेलामा समेत यातायात सुचारु राख्ने प्रमुख चुनौती छ । ‘कतिपय स्थानमा सडकको चौडाइअनुसार आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छैन । यसले निजी सम्पत्तिबाट सडक निर्माण गर्नुपर्दा स्थानीयको अवरोधको सामना गर्नुपरेको छ,’ उनले भने, ‘टीकाभैरव–सातदोबाटो सडक खण्ड साँधुरो भएकाले लोकपथको भरपुर उपयोग गर्न उक्त सडक खण्डको वैकल्पिक मार्ग खोजिनुपर्छ ।’ सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ । योजनाअन्तर्गत टीकाभैरव–सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ । जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ । योजनाअनुसार ट्र्याक चौडा ७१ किमि, कालोपत्रे ६९ भइसकेको छ । सडक सुरक्षाअन्तर्गत १८.१ किमि गर्नुपर्नेमा १८ किमि र ठूला पहिरोको संरक्षण गर्न अध्ययन भइरहेको योजनाले जनाएको छ । मकवानपुर खण्डअन्तर्गत चुच्चे खोला–जितपुर १५ किमि निर्माण पूरा भइसकेको छ । जितपुर– समिट घुम्ती ८५ प्रतिशत, सिमाट–आले भञ्ज्याङ ७० प्रतिशत, आले भञ्ज्याङ–बगुवा ७० र बगुवा–काल्चे ९५ प्रतिशत काम भइसकेको योजनाले जनाएको छ । मकवानपुरतर्फ क्रमशः कन्टेक/बानियाँ जेभीले २०७६ वैशाख २५ मा सम्पन्न गर्ने गरी १६ करोड ८४ लाख ९५ हजार रुपैयाँ, अमर कन्स्ट्रकसनले २०७६ असार २५ मा पूरा गर्ने गरी ३१ करोड ९२ लाख ९६ हजारमा ठेक्का पाएका थिए । त्यसैगरी, श्रेष्ठ/मोतीदान/बानियाँ जेभीले २०७६ वैशाख ३१ मा सम्पन्न गर्ने गरी २० करोड ७५ लाख ७२ हजार, दिवा/एमके/ हनुमान जेभीले २०७६ जेठ ३० मा पूरा गर्ने गरी १५ करोड ३१ लाख ८३ हजार रुपैयाँ ठेक्का पाएका हुन् । ललितपुर खण्डअर्न्तगत काच्चे–देवीसद ५५ प्रतिशत, देवीसद–तीनपाने ९७ प्रतिशत, तीनपाने–टीकाभैरव ९५ प्रतिशत पूरा भइसकेको छ । यहाँ क्रमशः बिरुवा/एसएल/सुनकोसी जेभीले २०७६ वैशाख ३१ मा पूरा गर्ने गरी १९ करोड ३९ लाख ८३ हजार र दिवा/ एमके/हनुमान जेभीले २०७६ वैशाख ३१ मा सम्पन्न गर्ने गरी २० करोड ४१ लाख ४० हजारमा ठेक्का पाएका थिए । त्यसैगरी, दि गोल्डेन गुड/पीएस जेभीले २०७६ वैशाख २८ मा पूरा गर्ने गरी १९ करोड १७ लाख १४ हजारमा ठेक्का पाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार