हजयात्रीको कोटा बढ्यो…………

भैरहवा – नेपालबाट हजका लागि यस वर्ष एक हजार पाँच सय जाने भएका छन्। साउदी सरकारले नेपाललाई दिइएको कोटामा तीन सय जना थप गरेको हो। यसअघि नेपाललाई हजयात्राका लागि एक हजार दुई सय कोटा दिएको थियो। देशभरबाट नयाँ र पुराना गरी यस वर्ष एक हजार ६ सय ३८ जनाले आवेदन दिएका थिए। साउदी सरकारलाई नेपाल हज समितिले पटक–पटक कोटा बढाउन माग गरेपछि यस वर्ष साउदी हज मन्त्रालयले शुक्रबार तीन सयवटा कोटा थप गरेको हो। गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको प्रयासले नेपालको जनसङख्याको आधारमा एक प्रतिशत कोटा थप भएको हज कमिटी केन्द्रीय सदस्य मेराज अहमदले जानकारी दिए। यस वर्ष निवेदन दिएर पहिलो चरणमा जान नपाएका करिब चार सय ३८ मुस्लिम समुदायबाट कागजपत्र मिलाएर प्रकिया पु-याई पहिला आउने तीन सयजनालाई हजका लागि छनोट गरिन्छ। साउनको २५ गतेदेखि दोस्रो चरणका हज यात्रीहरूलाई हजका लागि साउदी पठाउने योजना रहेको अहमदले बताए। फर्म भरेर पनि जान नपाएकाले कोटा थप भएपछि जान इच्छुक नेपालीले यही असार २४ गतेभित्र नेपाल हज समितिको सचिवालय काठमाडाैंमा गएर औँठा छाप र समितिले तोकेको रकम जम्मा गर्नुपर्ने हज समिति अध्यक्ष शम्शेर मीयाँले जानकारी दिए। गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिको सचिवालयद्वारा गठित असार १२ गतेको उपसमितिको निर्णयअनुसार नेपालबाट पहिलो चरणका एक हजार दुई सय हज तीर्थयात्रीको टोली साउन २ गते देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरेबिया एयरबाट साउदी अरबका लागि प्रस्थान गर्नेछन्। करिब डेढ महिनाको यात्रापछि भदौ ११ गतेदेखि स्वदेश फर्कनेछन्। केन्द्रीय हज कमिटीले गत असार १५ गते जारी गरेको सूचनाअनुसार पहिलो चरणमा यस वर्ष कपिलवस्तुबाट सबैभन्दा बढी दुई सय २२ जना हज यात्रामा जान लागेका छन्। यस्तै रुपन्देहीबाट एक सय ८३, सुनसरीबाट एक सय २६, बाँकेबाट एक सय २३, रौतहटबाट एक सय २७ जना हज यात्रामा जानेछन्। काठमाडौं, सिरहा, सप्तरी, मोरङ, धनुषालगायतका जिल्लाबाट पनि हज जानेछन्। यसैबीच हजयात्रामा जाने हाजीहरूलाई भैरहवामा तालिम दिइएको छ। अशरफी जामे मस्जिद बालापुर भैरहवाले यस क्षेत्रबाट जाने हज यात्रीहरुलाई हजसम्बन्धी तालिम र तर्वियत दिइएको हो। रुपन्देहीको भैरहवा क्षेत्रबाट हजका लागि गइरहेका करिब ७० जना हजयात्रीलाई विगतका वर्षहरूजस्तै यस वर्ष पनि मस्जिदमै तालिम दिइएको हाजीताहिर अलीले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार