पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन………

रगन्ज

वीरगन्ज– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ। भारतीय आयल कर्पोरेशन (आईओसी)ले मोतिहारी डिपोबाट पहिलो पटक पठाएको डिजेल बिहीवार साँझ बाराको अमलेखगन्जस्थित निगमको डिपोमा आइपुग्न लागेको छ। पाइपलाइनका योजना बिज्ञ शरद पौडेलका अनुसार डिजेलअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको छ। पानीपछि ‘टिज’ भन्ने रसायन (केमिकल) पठाएर पाइपलाइन सफा गरिएको छ। अब डिजेल भित्रिँदै छ। हाइड्रो टेस्टिङ्ग’ भनिने पानीवाला परीक्षण सफल भएपछि ‘आईओसी’ले डिजेल पठाएको नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए। मोतिहारीबाट हालिएको डिजेल बिहीबार साँझसम्म पाइपलाइनबाट निगमको अमलेखगञ्ज डिपोमा भित्रिन लागेको यादवले जानकारी दिए। ‘बुधवार मोतिहारीबाट डिजेल हालिएको छ, बेलुकासम्म अमलेखगञ्ज आइसक्छ’, उनले नागरिकसित भने, ‘त्यसपछि औपचारिक रुपमै उद्घाटन गरेर पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ। योजना कार्यालयका अनुसार पाइपलाइनको पेट्रोलियम फ्लो मापन उपकरण र नियन्त्रण कक्षको कम्प्युटर जडान गर्ने काम भइरहेको र यसबाहेक अरु सबै काम पूरा भइसकेको र केही दिनभित्र यो काम पनि पूरा भइसक्ने छ। भारतीय स्वाधीनता दिवसका दिन अर्थात आउँदो अगस्त १५ भित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम बनिरहेको निगमका अधिकारीले बताएका छन्। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला उनी र उनका भारतीय समकक्षी नरेन्द्र दामोदर दास मोदीले संयुक्त रुपमा स्वीच थिचेर योजनाको कार्यारम्भ गरेका थिए। भारत बिहारको पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतिहारीबाट ६९ किमीको दुरी पर्ने बाराको अमलेखगञ्जमा रहेको निगमको डिपो पाइपलाइनबाट जोडिएको हो। नेपाल–भारत सीमामा रहेको वीरगन्जको शंकराचार्य द्वारमा रहेको प्रवेशबिन्दुबाट ३६.२०६ किलोमीटरको दुरीमा छ अमलेखगञ्ज डिपो। भारतीय सरकारको सहयोगमा स्थापित मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट नेपालले वार्षिक २ अर्ब रुपैयाँ खर्च जोगाउने बताइएको छ। दैनिक सयौं ट्यांकरबाट उत्सर्जित हुने कार्बन जोगिनाले यसबाट पर्यावरणको रक्षा र सडकमा चाप न्युनिकरण हुने पनि आपेक्षित लाभ हो। राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावटलगायका समस्या समाधान हुने योजनाको दावी छ। प्रारम्भिक योजना अनुसार यसबाट अहिलेलाई डिजेलमात्र ल्याउने तयारी छ। सुरुमा रक्सौल–अमलेखगञ्ज पाइपलाइन योजना रहेकोमा आइओसीले रक्सौल डिपोलाई मोतिहारी सार्ने भएपछि पाइपलाइनको दुरी पनि लम्बिएको थियो। नेपालतिर पाइपलाई अझ भित्रसम्म बिस्तार गर्ने साम्भाब्यता रहेको निगमको भनाई छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार