आप्रवासीलाई आममाफीको अन्तिम अवसर………..

काठमाडौं– आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ। भिसा अवधि भन्दा बढी समय मलेसियामा बसेका नेपाली सहित अन्य देशका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पल्ट आममाफी दिन लागेको मलेसियाका गृहमन्त्री मुहिद्दिन यासिनले बताएका छन्। गृहमन्त्री यासिनका अनुसार आगामी अगष्ट १ देखि ३१ डिसेम्बर २०१९ सम्म लागू हुने आममाफीको घोषणालाई ‘प्रोग्राम ब्याक फर गुड’ नाम दिइएको छ। विगतमा जस्तो आममाफीको अवधी नलम्बिने जनाउँदै पुत्रजयामा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘ सात सय मलेसियन रिंगेट तिरेर हामी स्वेच्छिक रुपमा घर फर्किन अवैध आप्रवासी कामदारलाई आग्रह गर्छौं। मलेसियामा अझैं कति आप्रवासी कामदार अवैध रुपमा बसेका छन् भन्ने यकिन तथ्यांक नभएको उल्लेख गर्दै गृहमन्त्री यासिनले अवैध कामदारलाई हार्दिकता पूर्वक घर फर्किन आग्रह गरे। प्रक्रिया मिलाएर स्वदेश फर्किन चाहने अवैधानिक कामदारले पासपोर्ट, दूतावासले दिएको ट्राभल डकुमेन्ट र सात दिनभित्र घर फर्किने टिकट समेत पेश गर्नुपर्ने छ। आममाफीको कार्यक्रमलाई सहजीकरण गर्न दुई सय कर्मचारी र ८० वटा काउन्टर तयार पारिएको गृहमन्त्री यासिनले जानकारी दिए। सन् २०२० को सुरुवात सँगै मलेसियाले अवैध कामदार ति कार्यरत कम्पनीमाथि कठोर कदम चाल्ने बताएको छ।

अवसरको सदुपयोग गरौं: 

मलेसियाले दिएको आममाफीको अवसरलाई सदुपयोग गर्न मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आग्रह गरेका छन्। नागरिक न्यूज सँग टेलिफोनमा कुरा गर्दै राजदूत पाण्डेले भने-‘मलेसियाले नेपाली सहित मलेसियामा बस्ने आप्रवासी कामदारलाई दिएको यो एउटा अवसर हो। अब अवैध भएर मलेसियामा नबसौं।’ आममाफीको अवसरलाई सदुपयोग गर्दै नेपाल फर्किने कामदारलाई दूतावासले ट्राभल डकुमेन्ट बनाई दिने राजदूत पाण्डेले बताए। तर ट्राभल डकुमेन्ट बनाउन आवस्यक कागजात तयार पर्ने जिम्मा विगतमा जस्तो कुनै संस्थालाई नदिएको जानकारी दिँदै राजदूत पाण्डेले ट्राभल डकुमेन्ट बनाउन सोझै दूतावासमा सम्पर्क राख्न आग्रह गरे। नेपाल फर्किने ट्राभल डकुमेन्ट बनाइदिने नाममा विगतमा नेपाली दूतावास परिसरदेखि मलेसियामा होटल संचालन गर्दै आएका थुप्रैले अवैध नेपाली सँग मोटो रकम असुलेर कागजात बनाईदिने गरेका थिए। दूतावास रहेकै भवनमा संचालित रेस्टुरेन्ट र आसपासका भवन भाडामा लिएर समेत बिचौलियाले अवैध नेपाली सँग ट्राभल डकुमेन्ट बनाउन कयौं गुणा बढी रकम लिने गरेका थिए। ‘यो पल्ट कोहि बिचौलियाले प्रवेश पाउँदैनन्। मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीले सोझै दूतावासमा आएर ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किन पाउँनेछन्। छिटो कागजात बनाईदिने भन्दै कसैले कुनै प्रलोभन देखाउँछ भने सिधै दूतावासमा सम्पर्क गर्दा हुन्छ ‘ राजदूत पाण्डेलेभने।

सुवर्ण अवसर हो : 

मलेसियामा दुई दशकदेखि व्यापार/व्यवसाय र नेपालीलाई सहयोग गर्दै आएका हरि भट्टराईले मलेसिया दिएको आममाफीको अधिकतम उपयोग गर्न मलेसियामा कार्यरत अवैध नेपालीलाई आग्रह गरेका छन्। ‘कागजात बिना मलेसियामा अवैध भएर बस्नु भनेको आफैं असुरक्षित हुनु हो। त्यसैले असुरक्षित भएर बस्नु भन्दा नेपाल फर्किनु नै राम्रो हो’ भट्टराईले भने। मलेसियाले दिएको आममाफीको अवसरबाट धेरै नेपाली लाभान्वित हुने भट्टराईको विश्वास छ। मलेसियाले आफ्नो देशमा रहेका अवैधानिक कामदार हटाउन विगतमा पनि आममाफीको घोषणा गरेको थियो। सोहि आममाफीको अवधीमा मलेसियामा कार्यरत सयौं अवैधानिक नेपाली स्वदेश फर्किएका थिए। महाथिरको सरकारले मलेसियामा रहेका अवैध आप्रवासी कामदारमाथि कठोर नीति लिने यस अघि पनि जनाइसकेको छ। आममाफीको अवधीमा पनि स्वदेश नफ़र्किएका कामदारमाथि मलेसिया यसअघि पनि कठोर रुपमा प्रस्तुत भएको थियो। महाथिर नेतृत्वको सरकारले समेत पटक-पटक अवैध आप्रवासी कामदारलाई स्वदेश फर्किन आग्रह गरिसकेको छ। सम्भवत यो नै अन्तिम अवसर हुनसक्छ। त्यसैले अवैध भएर बसेका नेपालीले यसलाई एउटा अन्तिम अवसर सम्झेर नेपाल फर्किनु नै राम्रो हो’ भट्टराईले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार