धराशयी बन्दै वायुसेवा निगम……….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन। घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ। निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ। निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार निगमसँग भएका १३ वटा जहाजमध्ये सातवटाले मात्र उडान भरिरहेका छन्। ‘पाइलट अभाव र केहीको जारी मर्मतमा भएका कारण ६ वडा जहाजले उडान भरेका छैनन्,’ चन्दले भने। निगमले पाइलट व्यवस्थापन गर्न नसक्दा जहाज थन्किएका छन्। ‘पाइलट व्यवस्थापन गर्ने प्रयास गर्दैछौं,’ चन्दले भने। निगमले वाइड बडी खरिद गरेर ल्याए पनि नयाँ गन्तव्य विस्तार गर्न सकेको छैन। निगमले हाल ४४ आन्तरिक र २२ बाह्य गरी ६६ गन्तव्य स्थानमा उडान भर्दै आएको छ। निगमका उच्च अधिकारीमाथि निजी क्षेत्रका विमान कम्पनीलाई फाइदा पुग्नेगरी काम गर्दै आएको आरोप छ। निगम प्रतिस्पर्धी बन्न नसक्दा विदेशी कम्पनीलाई रणनीतिक साझेदार बनाएर ल्याउने तयारी गरेको छ। अहिलेको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी नभएपछि व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ। कार्यकारी अध्यक्ष खरेलले पनि विदेशी व्यावसायिक साझेदार ल्याउने योजना रहेको बताउँदै आएका छन्। यहाँ निजी कम्पनीले धमाधम जहाज थपेर व्यवसाय विस्तार गरिरहेको भए पनि अन्तर्राष्ट्रिय मात्र नभएर आन्तरिक उडानमा पनि नेपाल एयरलाइन्स कमजोर छ। न्यारो बडीका लागि तयार भएका पाइलटलाई अन्यमा लगेपछि न्यारो बडी जहाज उडान नभएको निगमका अधिकारी बताउँछन्। कार्यकारी अध्यक्ष खरेल निगमको विकासमा भन्दा पनि स्वार्थ समूहसँग फसेको निगमका अधिकारी बताउँछन्। ‘सबै जहाज उडाउन पाइलट व्यवस्थापन गर्न, नयाँ गन्तव्य खोज्नभन्दा पनि अध्यक्षज्यू स्वार्थ समूहको प्रभावमा फस्नुभएको छ,’ निगमका एक अधिकारीले भने, ‘आफ्नै प्रतिबद्धताअनुसार काम गर्न सक्नुभएन। निगमका जहाज पूर्ण क्षमताअनुसार चल्न नसक्दा निगम आर्थिक संकटमा फसेको छ। निगमले वाइड बडी विमान खरिदका लागि सरकारको जमानीमा २०७४ जेठ अन्तिम साता नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँका दरले २४ अर्ब ऋण लिएको थियो। ऋणको तीनतीन महिनामा किस्ता तिर्नुपर्ने भए पनि पछिल्ला तीन किस्ताको रकम तिरेको छैन। एक किस्ताको एक अर्ब २० करोड रुपैयाँका दरले निगमले तीन अर्ब ६० करोड बक्यौता तिर्न बाँकी छ। किस्ता तिर्न नसकेपछि खरेलको आलोचना भएको छ। निगमले सञ्चय कोष र नागरिक लगानी कोषका अतिरिक्त विभिन्न बैंकबाट पनि तीन अर्ब रुपैयाँ ऋण लिएको छ। ऋणको किस्ता तिर्न नसकेपछि निगमले सरकारसँग २० अर्ब रुपैयाँ ऋण मागेको थियो। तर अहिलेकै अवस्थामा एक पैसा पनि थप दिन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको वार्षिकोत्सवको अवसरमा बताइसकेका छन्। आफ्नै ठाडो प्रस्तावमा कार्यकारी अध्यक्ष बनाए पनि निगमलाई व्यावसायिक योजनाअनुसार अघि बढाउन नसकेपछि प्रधानमन्त्री ओलीले खरेललाई ‘रेड सिग्नल’ दिएका छन्। खरेलले प्रधानमन्त्रीलाई पनि चित्त बुझ्ने गरी काम गर्न सकेनन्। गत वर्षको भदौ ३१ मा नियुक्त भएर आएका खरेलले आफ्नै प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। निगमको महाप्रबन्धक सुगतरत्न कंशाकार हुँदाहुँदै ओलीको ठाडो प्रस्तावमा खरेल कार्यकारी अधिकारसहित अध्यक्ष पदमा नियुक्त भएका थिए। महानिर्देशक कंशाकार कार्यकाल सकिएपछि सेवानिवृत्त भइसकेका छन्। निजी जहाज कम्पनी नाफामा भए पनि निगम किन घाटामा रहेको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरेका थिए। ‘निगममात्र किन एक्लै ३७ अर्ब घाटामा छ,’ प्रधानमन्त्री ओलीले आश्चर्यसहित प्रश्न गरेका थिए। निगममाथि नयाँ गन्तव्यको खोजी नगरेको आरोप छ। निगमका अन्तर्राष्ट्रिय उडान खुम्चिँदै गएका छन्। यसले निगमलाई क्षति पुगेको छ। निगमका जहाजले भारतको नयाँदिल्लीमा दैनिक दुई र दुबईमा सातामा सात उडान भर्दै आएकोमा अहिले दिल्ली उडान कटौती भएको छ। अप्रिलदेखि दुबईको उडान तालिका घटाएर तीन दिनमा झारिएको छ। भारतबाट नेपालमा दैनिक चार उडान गर्दै आएको जेट एयर बन्द हुँदा पनि निगमले दिल्ली उडान थप्न सकेको छैन। वाइड बडी विमान अक्टोबर २०१८ सम्म प्रतिविमान प्रतिदिन नौ घण्टा ४५ मिनेट उडान हुँदै आएकोमा अहिले प्रतिदिन आठ घण्टा ५५ मिनेटमा झरेको निगमका अधिकारी बताउँछन्। जहाज मर्मतमा पनि फजुल खर्च गरेको निगम नेतृत्वमाथि आरोप छ। ए ३२० जहाजको एपियू बिग्रिँदा टेन्डर नगरी महँगो मूल्यमा खरिद गरेको, निगममा दक्ष इन्जिनियर उत्पादन गर्न चासो नदिएको निगमका अधिकारी बताउँछन्। निगमले साउदीको रियाद, चीनको गोन्जाओ तथा कोरियाको सिओलमा उडान सुरु गर्ने तयारी भएको बताउँदै आए पनि ती गन्तव्यमा उडान सुरु भएको छैन। निगमले जापानको ओसाकामा उडान भर्न अनुमति पाएपछि ४ जुलाईमा उडान तय भएको थियो। तर पछि उडान स्थगित भएपछि आलोचना भएको थियो। निगम व्यवस्थापनको कमजोरीले जापान उडान स्थगित गर्नुपरेको भन्दै निगमका जापान प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनले सार्वजनिक रुपमा आलोचना गरेका थिए। निगमले हिराचनलाई अहिले प्रतिनिधिबाट हटाएको छ। सीमित व्यक्तिको प्रभावमा परेर कार्यकारी अध्यक्ष खरेलले हिराचनलाई हटाएको निगमका अधिकारी बताउँछन्। निगमका प्रवक्ता चन्दले अन्तर्राष्ट्रिय बजारमा निगमका जहाज उडाउन थप गन्तव्यको खोजी भइरहेको बताए। ओसाकामा स्थगित भएको उडान अगस्ट २९ मा सुरु गर्ने चन्दले बताए। ‘साउदी अरबको रिहाद र चीनको गोन्जाओमा उडान गर्ने तयारीमा छौं,’ उनले भने। जहाज प्रयोगमा ल्याउन नसक्दा निगमले कमाएर ऋण तिर्न नसकेको उनले बताए। ‘जहाज घाम तपाउन ल्याइएको होइन,’ उनले भने, ‘उडान विस्तार गर्न लागि परेका छौं।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार