नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग……….

सिन्धुली– अविरल वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग शुक्रबारबाट खुलेको स्थानिय ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए। राजमार्ग खुलाउन दैनिक लागि परेका हौं, शुक्रबारदेखि एकतर्फी रुपमा राजमार्ग खुलेको छ, उनले भने। राजमार्गको विभिन्न स्थानमा ठुला पहिरो गई अवरुद्ध भएको राजमार्ग शुक्रबार बिहानबाट सञ्चालनमा आएको थियो। मध्यपहाडी राजमार्गस्थित खुर्कोट घुर्मि सडक खण्डमा जताततै पहिरो जाँदा पुर्वी पहाडी जिल्लाका सवारीहरु काठमाडौं आवतजावत गर्न सकेका थिएनन्। गत असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठुला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुङगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुदै आवातजावत गर्ने सवारीका साधन नचलेपछि यात्रुहरु हिडेरै यात्रा गर्न बाध्य भएका थिए। शुक्रबारदेखि मध्यपहाडी राजमार्ग खुलेको छ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिक न्यूजसँग भने ‘हामीले राजमार्गलाई विशेष प्राथमिकतामा राखेर खुलाउन अनुरोध गरेका थियौं, त्यहि अनसुार मध्यपहाडी राजमार्ग पनि खुलेको छ । अविरल बर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको विपी राजमार्ग समेत धेरै दिन अवरुद्ध हुन नदिएको भन्दै राजमार्ग तत्काल खुलाउन आफुहरु सफल भएको उनको भनाई थियो। मध्यपहाडी राजमार्गस्थित हैबार नजिकैको अक्करे भिरमा गएको पहिरो दुई दिन लगाएर बल्ल पन्छाइएको थियो। खुर्कोटबाट करिब १७ किलोमिटरसम्म पहिरो पन्छाए पनि गोलञ्जोर गाँउपालिकाको २ नं वडामा रहेको बितिजोर पुलमा बाढीले क्षति गरेपछि डाइभर्सन गर्न केहि दिन लागेकाले राजमार्ग खुलाउन ढिला भएको स्थानीयले बताएका छन्। अविरल वर्षाले मध्यपहाडी राजमार्ग अन्र्तगत गोलञ्जोर गाँउपालिका वडा नं २ बितिजोर खोलाको पुलमा क्षति पु-याएपछि उक्त स्थानमा राजमार्ग ड्राइभर्सन गरि खोलाबाटै सडक निर्माण गरिएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिए। पुलको एक भाग पुर्ण रुपमा क्षति भएको छ, उनले भने, एक साइडको पिल्लरको भित्र पट्टी बाढीले खोलेपछि राजमार्ग र पुलनै छुट्टीएर सम्बन्ध विच्छेद भएकाले ड्राइभर्सन गर्नुपर्ने भएको हो। खुर्कोट घुर्मि खण्डको ६० किलोमिटरभित्र विभिन्न स्थानमा ठुला तथा साना पहिरो गएपछि स्थानीय जनप्रतिनिधिसहित सडक विभागले राजमार्ग खोल्न निरन्तर प्रयास गरेपछि राजमार्ग खुलेको थियो। बाढी र पहिरोमा परि घुर्मिबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ३७६४ नम्बरको सुमो फिक्कल गाँउपालिकास्थित सोखुखोलामा आएको बाढिको लेदोमा पुरिएको थियो। यस्तै फिक्कल गाँउपालिकाकै बादरेखोलामा आएको बाढी र लेदोका कारण एउटा ट्रक पुर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि पुर्ण रुपमा राजमार्ग बन्द भएको थियो। काठमाडौंसँग पुर्वी तराईका जिल्लालाई छोटो दुरीमा जोडेको विपी राजमार्गमा खसेको पहिरोसमेत हालसम्म सबै पन्छाइ नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए। तत्कालका लागि हामीले एकतर्फी खुलाएका हौं, पुर्ण रुपमा पहिरो पन्छाउन अझै केहि दिन लाग्छ उनले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार