बुटवल – बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्। डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात हुन नसकेपछि व्यापारीले मुल्य तीन गुणाले बढाएका छन्। भारतीय तरकारीको बिषादी परीक्षण र भीसीटिएसको किचलोलाई पनि व्यापारीले मुल्य बढ्नुको कारण देखाएका छन्। दुइ साता अघिसम्म ५०/६० रुपैँयाका प्रतिकिलोमा पाइने टमाटर अहिले १२० देखि १५० रुपैँया सम्म पुगेको छ। एक मुठ्ठा सागको ५०/६० रुपैया छ। सिमी २ सय रुपैँया प्रतिकेजी छ। बोडी प्रतिकेजी १६० रुपैँया छ। परबर र तीते करेला १ सय रुपैँया प्रतिकेजी छ।काँक्रो १५० रुपैँया छ। भिण्डी र तिते करेला १२०, काउली १५० र हरियो खुर्सानी १६० रुपैँया प्रतिकिलो छ। सिमला मिर्च १६०,लौका ८० र घिरौला १ सय रुपैँया किलो छ। आलुको मुल्य खासै बढेको छैन। प्याज ५० रुपैँया प्रतिकिलो छ। अदुवा र लसुनको मुल्य पनि अत्यधिक बढेको छ। लसुन ८० रुपैयाँ पाउ र अदुवा ६० रुपैँया पाउ छ। बर्षाका कारण तरकारीको माग र आपुर्तिमा तालमेल नमिल्दा मुल्य बढेको व्यापारीहरुको भनाइ छ। उपभोक्ताले तिर्ने मुल्य अत्यधिक बढाइएको भएपनि किसानले भने त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारी आयात कम भएको भन्दै बिचौलीया व्यापारीले आफुखुसी मुल्य बढाएका हुन। बुटवलको हाट बजारमा तरकारी व्यापार गर्दै आएका डोरबहादुर घर्तीले बिचौलीयाबाटै महंगो तिरेर किन्नु पर्ने भएकाले बिक्रि मुल्य सोही अनुसार राखिएको बताए। ‘हामीले किसानसंग तरकारी किन्न पाउदैनौ। बिचौलिया, व्यापारीले किसानसंग खरीद गरेको तरकारी तिनले जती भन्छन् त्यती मुल्यमा किन्नु पर्छ र किनेको मुल्यमा १०÷१२ रुपैँया नाफा राखेर उपभोक्तालाइ बेचेका छौं’ घर्तीले भने। किसानबाट सस्तोमा खरिद गरिएको भए पनि आम उपभोक्ताले खरिद गर्ने बजार तथा पसलहरुमा तरकारीको मुल्य भने आकासिएको छ। तरकारी बजारको यो महँगीले आम उपभोक्ता मर्कामा परेका छन्। शंकरनगरकी जमुना आर्चायले हरियो तरकारीको मुल्य आकासिएपछि भन्सा कसरी चलाउने भन्ने चिन्ता थपिएको बताइन्। ‘दुइ सय रुपैँया किलोको तरकारी किनेर कतिदिन भान्सा चलाउने’ आर्चायले गुनासो गरिन्। उपभोक्ता हित संरक्षण मञ्चका लक्ष्मण बैदवारले देश विपतमा डुबेको मौका छोपेर बिचौलिया र व्यापारीले कालो बजारी गरीरहेको बताए।












