बर्खा लागेसँगै यातायातको सुविधाबाट वञ्चित……………

सुर्खेत, दैलेख – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ। पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्। प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ। ‘बर्खा लागेसँगै यहाँका अधिकांश सडक सञ्चालन हुन छाड्छ, वीरेन्द्रनगरनगरपालिका–१३ का आरपी लामिछानेले भने, ‘राजधानीभित्रकै सडकको यो अवस्था छ भने बाहिरको के होला ? ३० हजार तीन सय १३ वर्ग किलोमिटर भूगोल रहेको कर्णाली प्रदेशमा दुई हजार तीन सय ५२ किलोमिटर सडक छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार कालोपत्रे सडकको लम्बाइ ६ सय ३२ किलोमिटर मात्रै छ। तीन सय ४७ ग्राभेल सडक छ भने एक हजार तीन सय ७३ किलोमिटर सडक कच्ची अवस्थामा छ। ‘कच्ची र ग्राभेल सडक मात्रै होइन, यो प्रदेशमा कालोपत्रे सडकमा पनि बर्खामा गाडी गुड्न समस्या हुन्छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसियाले भने, ‘भएका सडकको स्तरोन्नति नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको छ। ’ बर्खा लागेसँगै कर्णालीका ग्रामीण सडकहरू अवरुद्ध छन्। वडाबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट सदरमुकाम र सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकहरू अवरुद्ध बनेका हुन्। कर्णालीका १० जिल्लामध्ये हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। यहाँ १२ किलोमिटरमा साना यातायातका साधन सञ्चालन हुन्छन्। भर्खरै सडक सञ्जालले छोएको डोल्पामा ३९ किलोमिटर सडक छ। बर्खा लागेसँगै यहाँका सडक अवरुद्ध छन्। कर्णाली प्रदेशको राजधानीसँग जोडिएका कर्णाली राजमार्ग, रत्न राजमार्ग, छिन्चु–जाजरकोट, वीरेन्द्रनगर–दैलेख सडकखण्ड नै बर्खाको समयमा अवरुद्ध हुने गरेका छन्। सडक डिभिजन कार्यालयका इन्जिनियर रेशम वली प्राविधिक अध्ययनबिना डोजरले खनेका सडक बर्खा लाग्नेबित्तिकै अवरुद्ध हुने गरेको बताउँछन्।

दैलेख र कालिकोट तयारी अवस्थामा

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ। ‘दैनिक हुने अवरोध हटाउन र उद्धार कार्यका लागि हामी तयारी अवस्थामा छौं,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले भने, ‘बर्खाकै समयमा कर्णाली राजमार्ग सुचारु राख्नु चुनौतीपूर्ण छ। ’ दिनदिनै हुने अवरोध हटाउन दैलेख खण्डका तीन स्थानमा हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटरलगायत) हरू राखिएका छन्। जिरो प्वाइन्ट (सियाकोट), तल्लोडुंगेश्वर र राकम कर्णालीमा हेभी इक्युपमेन्टसँगै आवश्यक जनशक्ति तैनाथ गरिएको उनले बताए। डिभिजन सडक कार्यालयले हेभी इक्युपमेन्ट उपलब्ध गराएको छ भने प्रहरीले आफ्नो जनशक्ति परिचालन गरेको छ। ‘यसका साथै राजमार्ग आसपासका प्रहरी चौकीलाई बर्खाभर सतर्क रहन निर्देशन दिएका छौं,’ उनले भने, ‘आवश्यक ठाउँमा जनशक्ति पनि थप गरेका छौं। ’ कालीकोटमा पनि स्थानीय प्रशासनले आवश्यक जनशक्ति र औजार तयारी अवस्थामा राखेको छ। कर्णाली राजमार्गअन्तर्गत कालिकोटका गगनेखोला, कालेखोला, सुनारखोला, पिली र राँचुलीमा नियमित पहिरो जाने गरेको छ। कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले कर्णाली राजमार्गलाई सुचारु राख्न डोजरसहित प्रहरी जनशक्तिलाई परिचालन गरिएको बताए। ‘यहाँ दिनदिनै कुनै न कुनै ठाउँमा पहिरो जान्छ,’ उनले भने, ‘आइतबार मात्रै तीनवटा डोजरको सहायताले राँचुलीको पहिरो हटायौं। ’

पुल नहुँदा सास्ती

वर्षात्को समयमा कर्णाली राजमार्गअन्तर्गतका साना खोलाहरूका कारण पनि सडक अवरुद्ध हुने गर्छ। खहरे खोलामा बग्ने भेलले घण्टौं राजमार्ग बन्द हुन्छ। कर्णालीका अधिकांश खोलामा पुल छैनन्। केही ठाउँमा पुल बन्दै गरे पनि ठेकेदारको लापरबाहीले वर्षौंदेखितिनले पूर्णता पाउन सकेका छैनन्। पातलेखोला, जाक्सीखोला, पालतडा, कानेखोला, दहीखोला, छेडाखोला, कुवाखोला, कालेखोला, मटेखोला, रतिखोला, लोहाखोलालगायत ठाउँमा ठेक्का भएको वर्षौ भए पनि पुल निर्माण सम्पन्न भएका छैनन्। दैलेखका नैनबहादुर शाहीले समयमा पुल निर्माण नहुँदा कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण रहेको बताए। ‘वर्षात्को समयमा साना खोलाहरू नदी बन्छन्,’ उनले भने, ‘यस्तो बेला कर्णाली राजमार्गको यात्रा गर्नु निकै चुनौतीपूर्ण हुन्छ। ’ जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो कार्यक्षेत्र पर्ने राजमार्गमा निर्माणधीन पुलहरू २०७५ असार समान्तभित्र सक्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएको थियो। हालसम्म पनि ती पुल बनेका छैनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार