संविधानको उल्लंघन हो कि होइन ?………..

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले खानेपानी तथा सरसफाई मन्त्री विना मगरले संविधानको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री मगरले प्रस्तुत गरेको ‘खानेपानी तथा सरसफाई विधेयक २०७६’ माथिको छलफलमा भाग लिँदै नेता थापाले संविधानको धारा ४७ मा ३ वर्षमा सम्पूर्ण विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै यो विधेयक महिनौपछि आउँदा संविधानको उल्लंघन भएको बताए। ‘यो एउटा विधेयक मात्रै यत्रो महिनापछि ल्याउने विशेष अधिकार कसरी भयो? यो संविधानको उल्लंघन हो कि होइन?’ उनले प्रश्न गरे, ‘यो विधेयक आफ्नो सुविधा र आवश्यकताअनुसार अहिले आएर ल्याउन पाइन्छ? पाइँदैन।’ नेता थापाले सरकारले संविधानको उल्लंघन गरे अरुले पनि गर्दै जानेतर्फ सभामुख र मन्त्रीको ध्यानाकर्षण गराए। नेता थापाले विधेयकमा आधारभूत स्वास्थ्य निःशुल्क बनाइएको तर आधारभूत खानेपानीलाई निःशुल्क बनाउने कुरा विधेयक उल्लेख नगरेकोमा पनि आपत्ति जनाए। उनले विधेयक खानेपानी अधिकारको मर्म विपरित रहेको र ढिलो ल्याएको भन्दै मन्त्रीलाई धन्यवाद नभन्ने पनि बताए। ‘म अन्य माननीय सदस्यजस्तो मन्त्रीजीलाई धन्यवाद भन्न सक्दिन’, उनले भने। मन्त्री मगरले भने गगनकाे प्रश्नकाे कुनै जवाफ दिइनन्। उनले गगनकाे नाम नलिइ ‘धन्यवाद नदिनेलाइ पनि म धन्यवाद भन्न चाहन्छु’ मात्रै भनिन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार