दुर्गन्धित ठाउँ बन्यो सुन्दर पार्क…………

काठमाडौं – केही महिनाअघिसम्म काठमाडौं–२० स्थित विष्णुमती खोला किनारमा पुग्दा कुरुप सुकुमवासी बस्ती र दुर्गन्धित फोहोरको डंगुर देखेर आँखा अत्तालिन्थे। त्यसमा पनि लागूपदार्थ दुव्र्यसनीको बिगबिगीले अवस्था झनै डरलाग्दो थियो। अहिले भने त्यस ठाउँको अवस्था फेरिएको छ। नागरिककर्मी बुधबार त्यहाँ पुग्दा हरियाली र स्वच्छ वातावरणमा बालबालिका खेलिरहेका थिए। युवा समूहमा गफिँदै थिए। वृद्धवृद्धा सुस्ताउँदै थिए। फोहोर थुप्रिने त्यस ठाउँमा यति बेला रमाइलो पार्क बनेको छ, जसले स्थानीय पनि खुसी छन्। पार्कमा भेटिएकी ५५ वर्षीया धर्मदेवी महर्जनले त्यहाँ आइपुग्नासाथ मन फुरुंग भएको सुनाइन्। पार्क बनेपछि विशेषगरी वृद्धवृद्धालाई खुला र हरियाली वातावरणमा आराम गर्न सहज भएको उनको अनुभव छ। ‘म त पार्कभित्र छिर्दा नै हृदयदेखि नै खुसी भएँ,’ धर्मदेवीले भनिन्, ‘केही महिनाअघि त यो ठाउँमा आउनै डर लाग्थ्यो तर आज चराचुरुंगीको मिठो स्वरसाथै छहारीमा रमाउने ठाउँ पाएकोमा मन फुरुंग बनेको छ। पारिवारिक चिन्ता पनि पार्कको मनमोहक वातावरणले बिर्सिनेरहेछ।  काठमाडौं महानगरपालिका वडा नं. २० स्थित विष्णुमती किनारमा बनेको ‘स्वस्थ नागरिक पार्क’ ले प्रदेश सांसद विराजभक्त श्रेष्ठको पहलमा स्वरुप लिएको हो। वडाध्यक्ष राजेन्द्र मानन्धरले सांसद श्रेष्ठको पहलमा वडामा हरियाली पार्क बनाउन सफल भएको बताए। उनले पार्क बनेपछि ज्येष्ठ नागरिक, युवा तथा बालबालिका आकर्षित भएको बताए। वडाध्यक्ष मानन्धरले पार्कमा योगका लागि सामग्री व्यवस्थापन गर्न लागेको बताए। चमतीकी हेमा श्रेष्ठले पार्क बनेपछि वातावरण रमाइलो भएको सुनाइन्। ‘पहिले निकै गनाउने र घिनलाग्दो ठाउँलाई सांसद श्रेष्ठको पहलमा हामी सबै स्थानीयले रमाइलो पार्क बनायौं’, उनले भनिन्, ‘पार्कमा खानेपानीको व्यवस्था पनि छ। थाकेको र मन निरास भएको अवस्थामा पार्कमा आउँदा शान्ति मिल्ने गरेको छ। ’पार्कमै भेटिएका सांसद श्रेष्ठले २०७२ सालमा भुइँचालो जाँदा वडामा खुला ठाउँको अभाव महसुस भएकाले पार्क बनाउन प्रदेशसभामा कुरा उठाउँदै आएको र सफलता पनि मिलेको सुनाए। स्वस्थ नागरिक पार्क’ नाम राखेर प्रदेश सभामा योजना पेस गरे,’ श्रेष्ठले भने, ‘भएकै ठाउँ व्यवस्थित गर्न स्थानीयको सहयोग मिल्यो। सामाजिक विकास मन्त्रालयको ४१ लाख बजेटमा पार्क निर्माण भएको हो। ’ उनले पार्क बने पनि संरक्षणमा चुनौती रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘पार्क संरक्षणका लागि जनचेतना अभियान सञ्चालन गर्ने तयारीमा छौं,’ श्रेष्ठले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार