हङकङ साहित्य श्रृंखलाको नेतृत्वमा सुनिता गिरी र दिपेन्द्र राई

  टोपबहादुर याक्खा

 १८ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको आठौं वार्षिक उत्सव मार्फत संयोजकमा सुनिता गिरी र सह–संयोजकमा दिपेन्द्र राई चयन भएका छन् ।
श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षता र साहित्यकार तथा संस्कृतिविध अतीत मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो चरणको कार्यक्रममा हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान पुर्याउदै आएका विभिन्न व्यक्तित्वहरुलाई एकहजार एकसय एघार हङकङ डलर नगद पुरस्कार सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने साहित्यिक व्यक्तित्वहरुमा नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार तर्फ अतीत मुखिया, स्रष्टा र सृजना पुरस्कार तर्फ ‘माइत जाने बाटो’ का सर्जक सुनिता गिरी र ‘टाँकीका फूलहरु’ का सर्जक दाजु गुरुङ, नेपाली भाषा साहित्य र चित्रकारिता पुरस्कार तर्फ दिपेन्द्र राई तथा नवप्रतिभा पुरस्कार तर्फ इक्सा लिम्बु र जस्मिना दुरा रहेका छन् ।
एक दर्जत बढि साहित्यकारहरुद्धारा आफ्नो सृजनाहरु समेत वाचन गरिएको कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व, पत्रकार तथा साहित्य श्रृंखलालाई आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
दोस्रो चरणको कार्यक्रममा साहित्य श्रृंखलाको सातौं संस्करणको संयोजकका रुपमा निवर्तमान सह–संयोजक सुनिता गिरी र सह–संयोजकका रुपमा दिपेन्द्र राई सर्वसम्मतबाट चयन भएका थिए ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नेपालबाट आएका साहित्यकार भावेस भुमरी, नेपाली भाषा तथा साहित्य परिषद हङकङ अध्यक्ष किसन राई, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन ‘आन्छन’ एन.आर.एन.ए.हङकङकी अध्यक्ष टिका गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको साहित्य श्रृंखला हङकङमा रहेका आधा दर्जन बढि साहित्यिक संघसंस्थाहरु मध्ये सबै भन्दा सक्रिय साहित्यिक संस्थाको रुपमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार