अपहरण गरी बयान फेर्ने कागजमा सही गराए……….

काठमाडौं – राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ। मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन्। बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे। आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो। सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रूपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन लगाएका थिए। तर थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भए पनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएलगत्तै प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै चमार रोएका थिए। साथै, आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीलाई आग्रह गरेका थिए। चमारले आफूलाई ४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेको बेला ४÷५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफन्तको घरमा बन्धक बनाएर राखेको बताए। त्यसै समय आलमका मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे। यसअघि २१ कात्तिकमा अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो। २७ चैतको विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजगारीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो। २०७४ सालमै खातुनले आफ्ना पतिको मृत्युदर्ता प्रमाणपत्र बनाएर प्रहरीसमक्ष आलमविरुद्ध कारबाहीका लागि पेस गरेकी थिइन्। पहिलो संविधानसभाको निर्वाचन प्रचारप्रसारको क्रममा आलमकहाँ गएका ओसी अख्तरको विस्फोटमा परी ज्यान गएको थियो। ओसी अख्तरको ज्यान गएपछि आमा रुकसाना खातुनले आलमलाई कारबाहीका लागि माग गर्दै गरेको अवस्थामा उनको गोली हानी हत्या गरिएको थियो। बिहीबार मियाँकी पत्नी आमना खातुनलाई प्रतिवादी पक्षले अदालतमा उपस्थित गराएर निवेदन दिन ल्याए पनि ती महिलाले दिएको निवेदन अदालतमा दर्ता हुन सकेको छैन। घटना अनुसन्धानको क्रममा तत्कालीन समयमा मृतककी पत्नी अमना खातुनले उनकी सासू रुकसाना खातुनकै भनाइ उद्धृत गरेर पतिलाई आलमका सहयोगीले लिएर गएको र त्यहाँ भएको विस्फोटमा मारिएको भन्ने कागजसमेत गरेकी थिइन्। आलमका सहयोगीले पीडितलाई होस्टाइल गरी अदालतमा ल्याएर अर्को निवेदन दिन लगाएका छन्। मृतककी पत्नी अमना खातुनले तत्कालीन समयमा आफ्ना पति वैदेशिक रोजगारमा गएका र त्यहाँ मारिएको भन्ने व्यहोरासमेत सो निवेदनमा उल्लेख गरेको अदालत स्रोतले जनाएको छ। आलमका सहयोगीको त्रासबाट केही प्रत्यक्षदर्शी र साक्षीसमेत डराएपछि प्रहरीले उनीहरूको सुरक्षामा ध्यान दिन थालेको छ। आलमका सहयोगीले मृतक ओसी अख्तरका छोरालाई ५ कट्ठा जमिन र ५ लाख रुपैयाँ दिने प्रलोभन दिएको अडियोसमेत जिल्ला प्रहरी कार्यालय रौतहटले फेला पारेको प्रहरी स्रोतले जनाएको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोट र मृतक तथा घाइतेलाई इँटाभट्टामा जलाएको आरोपमा रौतहट २ का सांसद आलम पक्राउ परेका छन्। उनीविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।   श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार