चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने…………….

काठमाडौं – नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ। ती सामग्री आइतबारै सातै प्रदेशका विभिन्न २५ ठूला अस्पतालमा पठाउने तयारी भए पनि समय अभावका कारण सोमबार मात्र पठाइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ विभिन्न संस्थाबाट अनुदान सहयोगमा दिइएका त स्वास्थ्य सामग्री आइतबार काठमाडौं आइपुगेको जानकारी मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिए। काठमाडौंस्थित चिनियाँ दूतावास, चीनको सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक्मा फाउन्डेसन, सिएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, सिचुवान होन्सी ग्रुप र होन्सी सिमेन्ट कर्पोरेसन लिमिटेडले १० करोड रुपैयाँबराबरका विभिन्न सामग्री अनुदान सहयोगमा नेपाल सरकारलाई उपलब्ध गराएका हुन्। अनुदान सहयोगमा प्राप्त सामग्री आइतबार नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले स्वास्थ्य राज्यमन्त्रीलाई हस्तान्तरण गरिन्। मन्त्रालयका प्रवक्ता देवकोटाले सरकारले चीनबाट खरिद गरेका पिपिईलगायत स्वास्थ्य सामग्री पनि आइतबारै जहाजबाट आएको जानकारी दिए। ती स्वास्थ्य सामग्रीमा पिपिइ, सर्जिकल मास्क र डिस्पोजेबल मास्क, कोरोना परीक्षण उपकरण तथा रिएजेन्ट, किट्स, चश्मालगायत छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार नेपालले यस्ता सामान चीनबाट फेरि पनि ल्याउनेछ। दोस्रो पटक सामान लिन मंगलबार र तेस्रो पटक सामान लिन अप्रिल ३ मा जहाज चीन जानेछ।
श्रेष्ठले विश्व बजारमा पिपिई सामग्री अभाव भएकाले सीधै ठेकेदारमार्फत ल्याउँदा केही महंगो परेको प्रष्टीकरण दिए। उनका अनुसार केही महिना पहिलाको तुलनामा १५ प्रतिशत बढी महँगो पर्न गएको छ। उनले सामान खरिदमा भ्रष्टाचार नभएको दाबी गरे। उनले भने, ‘हामीले खरिद गरेका सबै सामग्रीको बिल तथा अन्य सूचना वेबसाइटमा राख्छौं, सबै काम पारदर्शी हुन्छ।’

अब सातै प्रदेशमा नमुना परीक्षण हुने

चीनबाट ल्याइएका मेडिकल सामग्री सातै प्रदेशमा पठाइने र परीक्षण थालिने भएको छ। कोरोना परीक्षणका लागि थप पाँचवटा मेसिन पनि ल्याइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारदेखि प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षण सुरु भइसकेको छ। प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटांैडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्मि प्रदेशको धनगढीमा कोरोना भाइरसको नमुना परीक्षण गरिनेछ। ‘जनशक्ति तयार भइसकेको छ, अब सामान पुगेपछि परीक्षण सुरु हुन्छ,’ महानिर्देशक श्रेष्ठले भने।

९१७ को नमुना परीक्षण

मन्त्रालयले आइतबारसम्म सम्भावित कोरोना संक्रमित ९१७ को नमुना परीक्षण भएकोमा पाँचजनामा मात्र पोजेटिभ पाइएको जनाएको छ। संक्रमित पाँचमध्ये एक उपचारपछि निको भएका छन् भने दुईको टेकु, एकको सेती अञ्चल अस्पताल र एकको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। पाँचैजना विदेशबाट आएका हुन्। मन्त्रालयका अनुसार कोरोना आशंकामा राजधानीका विभिन्न अस्पतालमा १२ जना भर्ना भएका छन्। जसमध्ये पाँच शुक्रराज ट्रपिकल अस्पताल टेकु, ६ पाटन र एक कान्ती बाल अस्पतालमा छन्। कोरोना पोजिटिभ देखिएका बिरामीको सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राख्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। बुटवलस्थित आइसोलेसन अस्पतालमा आइतबार मृत्यु भएका व्यक्तिको नमुना परीक्षण आएपछि मात्र कारण खुल्ने उनले बताए।

बिरामी फिर्ता पठाउन नमिल्ने

कतिपय अस्पतालले ज्वरोका बिरामी जाँच नगरी फर्काएको गुनासो आएको विषयमा प्रवक्ता देवकोटाले निजी र सरकारी दुवै अस्पतालले यस्तो गर्न नपाउने बताए। उनले कुनै अस्पतालले बिरामी जाँच र भर्ना नगरे कारबाही भोग्नुपर्ने बताए। उनका अनुसार हब र डेजिस्नेटेड अस्पतालले कोभिड– १९ का बिरामी फर्काउन नपाइने बताए

अब वेबसाइट र मोबाइल एप्सबाटै सूचना

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका क्षेत्रमा भएका कामको जानकारी गराउन ‘कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी’ र ‘हाम्रो स्वास्थ्य मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार वेबसाइट र एपको उट्घाटन गरे। मन्त्रालयले भाइबर कम्युनिटी पनि सञ्चालनमा ल्याएको छ। मन्त्री ढकालले कोरोना भाइरसविरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरण तथा कोरोनाबारे एकीकृत रूपमा सही जानकारी उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको बताए।  एनअेाएन  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार