कोभिड-१९ महामारीबारे चीनको श्‍वेतपत्र, उपचार दर ९४ प्रतिशत……

बेइजिङ — विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को उपचार दर चीनभित्र ९४ प्रतिशत पुगेको चीनले दाबी गरेको छ । आइतबार बेइजिङमा कोरोना भाइरस विरूद्धको लडाईँ सम्बन्धी एउटा श्‍वेतपत्र जारी गर्दै चीनले ९४ प्रतिशतभन्दा बढी संक्रमितको उपचार भएको, परम्परागत औषधि चलाइएको, संक्रमितको निःशुल्क उपचार गरिएको तथा विश्वका विभिन्न मुलुकमा आफ्नो सहायता उपलब्ध गराएको जानकारी दिएको हो । ‘कोभिड-१९ विरुद्धको लडाइँ र चीनको कार्यरूप’ विषयक राज्यपरिषदको प्रेस कार्यालयद्वारा जारी श्वेतपत्रमा मे महिनाको अन्त्यसम्ममा मुख्यभूमि चीनमा ८३ हजार भन्दा बढी निश्चित संक्रमितमध्ये ७८ हजार ३ सय भन्दा बढीको उपचार भएकोले उपचार दर ९४.३ प्रतिशत रहेको जनाइएको छ। मानव समुदायको साझा नियतिलाई समर्थन गर्न, महामारी नियन्त्रणमा सहकार्य गर्न र संयुक्त रूपमा साझा मानव स्वास्थ्य समुदाय निर्माणको अवधारणा पनि श्वेतपत्रमार्फत् ल्याइएको छ । कुनै पनि संक्रमितलाई नछोडेर व्यापक, अनुशासित, पूर्ण रोकथाम र नियन्त्रणका उपाय अबलम्बन गरेको चीनले आफ्ना अनुवभवहरू विश्वका विभिन्न मुलुकमा बाँडिरहेको पनि बताएको छ ।

महामारीका लागि अस्थायी संरचना

कोभिड – १९ को उद्गम मानिएको हुबेइ प्रान्तको वुहानमा रंगशाला र प्रदर्शनी केन्द्रहरूलाई चीनले उपचार केन्द्रको रूपमा स्थापना गरेको थियो। जहाँ करीब १४ हजार शैय्या उपलब्ध भए। यसबाट निश्चित भएका बिरामीलाई तत्काल उपचार गर्न र समुदायमा संक्रमण फैलिनबाट रोक्न सकिएको थियो ।

जडीबुटीले ९२ प्रतिशत बिरामीको उपचार

पुरै चीनभरि कोभिड–१९ को रोकथाममा परम्परागत चिनियाँ मेडिसिन (टीसीएम) को प्रयोग गरिएको थियो। यसबाट ९२ प्रतिशत बिरामीलाई रोगमुक्त पारिएको थियो। टीसीएमको डायग्नोसिस तथा उपचार प्रोटोकल विकास गरिएको थियो जसमा मेडिकल अनुगमन, प्राथमिक उपचार, मध्यम तथा सिकिस्त र पुनःस्वस्थको अवधारणा बमोजिम परम्परागत उपचार विधि प्रयोग गरिएको थियो। सबैभन्दा पहिला र नराम्ररी कोरोना भाइरसग्रस्त हुबेइ प्रान्तमा ९० प्रतिशत बिरामीमा परम्परागत उपचार पद्धति प्रभावकारी सावित भएको थियो ।

कोरोना संक्रमितको निःशुल्क उपचार

चीनले मानव जीवनलाई प्रथम प्राथमिकतामा राख्दै कोभिड-१९ संक्रमितको निःशूल्क उपचार गरेको छ। निश्चित वा शंकास्पद संक्रमित कसैले पनि बिल पेश गरेर बीमा वा आर्थिक सहायताको भर पर्नु नपरेको श्वेतपत्रमा जनाइएको छ ।

८० वर्ष माथिका ३ हजार संक्रमित निको

चीनले ८० नाघेका हुबेइका करिब ३ हजार संक्रमितलाई सन्‍चो पारेको दाबी गरेको छ । उनीहरूका लागि राज्यको १५ लाख चिनियाँ युआन सबै राज्यले व्यहोरेको छ । चिकित्सकहरूको दृढता, पर्याप्त मेडिकल उपकरण, औषधी लगायतका कारण यो संभव भएको चीनको भनाइ छ । सेना तथा देशका विभिन्न प्रान्तबाट प्राप्त बृहत् आन्तरिक मेडिकल सहायताको परिचालनले चीनले निकै मेहनतपूर्वक महामारीलाई नियन्त्रणमा लिएको भनेको छ । सूचनाको सही प्रसारण पनि यसमा जिम्मेवार छ। चिनियाँ कम्युनिष्ट पार्टीको शीघ्र प्रतिक्रिया तथा विपत्तिमा निर्णायक क्षमतालाई निकै महत्वका साथ व्याख्या गरिएको छ ।

कोभिड विरूद्ध चीनको विश्वव्यापी सहायता

चीनले विश्वभरि आफ्नो सहायता पठाएर महामारी नियन्त्रणमा योगदान गरेको जनाएको छ । मे अन्तिम सम्ममा उसको सहयोग विश्वका १५० देश र ४ अन्तर्राष्ट्रिय संगठनको हातेमालोमा भइरहेको छ। विभिन्न २७ देशमा २९ वटा मेडिकल विज्ञ समूह परिचालन गरेको छ ।

सुरक्षा सामग्री निर्यात

विश्वका २०० देश र क्षेत्रमा चीनले सुरक्षा सामग्री निर्यात गरेको जनाएको छ। चीनले महामारी नियन्त्रणका लागि उपलब्ध गराएका सामग्रीबाट रोकथाम तथा नियन्त्रणमा ठूलो राहत मिलेको अनुभव गरेको श्वेतपत्रमा लेखिएको छ । हालसम्म विश्वमा निर्यात गरिएका सामग्रीहरू ७०.६ बिलियन मास्क, ३४० मिलियन प्रोटेक्टिभ सुट, ११५ मिलियन जोडी गगल्स, ९६ हजार ७ सय भेन्टिलेटर, २२५ मिलियन टेस्ट किट र ४०.२९ मिलियन थर्मोमिटर छन् । चिनियाँ स्वास्थ्य सामग्रीमाथि गुणस्तरको प्रश्न उठेपछि चीनले अहिले यसलाई कडाइका साथ कार्यान्वयन गरिरहेको बताएको छ । महामारी नियन्त्रणमा विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा जोड दिँदै चीनले आफू महामारीको शिकार र विश्वव्यापी योगदानकर्ता भएको उल्लेख गरेको छ । श्वेतपत्र सार्वजनिक गर्ने क्रममा चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ् च काङ्ले भने, ‘चीनले सबै खोप अनुसन्धानमा विश्व समुदायलाई सघाएको छ। चिनियाँ खोपको विकास र परीक्षणका लागि तयार भएमा विश्वलाई उपलब्ध गराउनेछ ।’

उथलपुथल हुन पुगेको विश्वको सामाजिक तथा आर्थिक विकासमा स्थिरता र सुरक्षा प्रदान गर्ने अठोट पनि चीनले प्रकट गरेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार