कोरोना संक्रमण देखिएपछि बेइजिङका केही ठाउँमा पुन: लकडाउन……

लामो समयपछि कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको राजधानी बेइजिङका केही भागमा पुन: लकडाउन गरिएको छ । दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएपछि बेइजिङका ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको समाचार संस्था एएफपीले जनाएको छ । त्यस्तै मासुबजारको छेउछाउमा रहेको ९ वटा विद्यालयहरु पनि बन्द गरिएको छ । सिनफादी मासुबजारबाट संकलन गरिएका ५ सय १७ नमुनामध्ये ४५ जनामा संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यम पिपल्स डेलीले जनाएको छ । बेइजिङ प्रशासनले नयाँ कोरोना संक्रमितको पहिचानका लागि १० हजारभन्दा बढी नागरिकको न्युक्लिएक एसिड टेस्ट गर्ने जानकारी दिएको छ । चीनको राजधानी बेइजिङमा ५० दिनपछि स्थानीय केस देखिएको हो । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो पट कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । तर केही ठाउँमा देखिएको स्थानीय संक्रमणका कारण भने चीनमा पुन: यसले महामारीको रुप लिने हो कि भन्ने चिन्ता बढेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार २ सय २८ जना पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७९ हजार ४ सय ७२ जना निको भएका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार