संक्रमित बढ्दै गएपछि मोदी दबाबमा……

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित एसियाली मुलुक भारतमा दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा ११ हजार ४ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमित हुने हालसम्मकै बढी हो । सुरु सुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भए पनि हाल यो दैनिक रूपमा बढ्दो देखिएको मन्त्रालयको भनाइ छ । भाइरसको संक्रमण दिनानु दिन बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दबाबमा परेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार शनिबार मोदीले वरिष्ठ मन्त्रीहरूसँग छलफलसमेत गरेका छन् । छलफलमा महाराष्ट्र, तमिलनाडु तथा दिल्लीलगायत राज्यमा अनियन्त्रित भइरहेको भाइरसको संक्रमण रोक्ने उपायहरूबारे कुराकानी भएको जनाइएको छ । छलफलमा प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री हर्षबर्द्धनलगायतको उपस्थिति थियो । छलफलका क्रममा नीति आयोगका सदस्य विनोद पलले संक्रमणको अवस्थाबारे विश्लेषण प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिका आधारमा मोदीले स्वास्थ्य मन्त्रालयलाई आपत‌्कालीन योजना तयार पार्न निर्देशन दिएका जनाइएको छ । भाइरसको महामारीका विषयमा प्रधानमन्त्री मोदीले जुन १६ र १७ मा राज्यका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दैछन् । स्वास्थ्य अधिकारीहरूले पछिल्लो समय लकडाउन खुकुलो पारिनुका साथै परीक्षणको दायरा बढाइएकाले संक्रमितको संख्या क्रमशः बढिरहेको जनाएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भाइरसका कारण २४ घण्टामा ३ सय ८६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ८४ पुगेको छ । त्यस्तै, ३ लाख ८ हजार ९ सय ९३ जना भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ लाख ५४ हजार ३ सय ३० जना निको भएका जनाइएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । महाराष्ट्रमा १ लाख १ हजार १ सय ४१ जना संक्रमित छन् भने ३ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ । ४७ हजार ७ सय ९६ जना निको भएका जनाइएको छ । त्यसैगरी, तमिलनाडु राज्यमा ४० हजार ६ सय ९८ जना संक्रमित भइसकेका छन् । तमिलनाडुमा २२ हजार ४७ जना निको भएका छन् भने ३ सय ६७ जनाको ज्यान गएको छ । दिल्लीमा शनिबार साँझसम्म ३६ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १३ हजार ३ सय ९८ जना निको भएका छन् । भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय १४ पुगेको छ । नेपालसँग सीमा जोडिएका राज्यमध्ये उत्तरप्रदेश बढी प्रभावित देखिएको छ । त्यहाँ १२ हजार ६ सय १६ जना संक्रमित भइसकेका छन् भने ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पश्चिम बंगालमा १० हजार २ सय ४४, बिहारमा ६ हजार १ सय ३ र उत्तराखण्डमा १ हजार ७ सय २४ जना संक्रमण पुष्टि भइसकेको छ । पश्चिम बंगालमा ४ सय ५१, बिहारमा ३६ र उत्तराखण्डमा २१ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सिक्किम राज्य कोभिड–१९ बाट सबैभन्दा कम प्रभावित देखिएको छ । सिक्किममा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ ।

मध्य प्रदेशमा रोजगार मेला हुने

भारतको मध्य प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बेरोजगार बनेकालाई सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्ने भएको छ । अधिकारीहरूले रोजगारी दिने र खोज्नेहरूबीच समन्वय गराउनका लागि मेला आयोजना गर्न लागिएको जनाएका छन् । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरूका लागि पनि काम खोजी दिन मेलामार्फत सहयोग पुग्ने विश्वास गरिएको छ,’ एक अधिकारीले भने । विशेष गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग समन्वय गरिदिन लागिएको ती अधिकारीको भनाइ छ । मेला जुन महिनाको तेस्रो साता सुरु हुने जनाइएको छ । ‘कामदारहरूले आफैं सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरूलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरूलाई रोजगारदातासँग भेट गराइनेछ,’ सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने मध्य प्रदेश सरकारको भनाइ छ । मेलामा सहभागी हुन आउने कामदारहरूलाई खाना तथा पानीको समेत व्यवस्था गरिने गरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाको समयमा कोभिड–१९ को संक्रमण फैलन नदिन अपनाउनुपर्ने आधारभूत सतर्कतालाई विशेष ध्यान दिइने सरकारले जनाएको छ । त्यसका लागि सामाजिक दूरी कायम गर्ने, शरीरको तापक्रम मापन गरिने, मास्क तथा पन्जा लगाउन अनिवार्य गरिनेलगायत व्यवस्था मिलाइने अधिकारीहरूको भनाइ छ ।

सरकार उल्टो दौडमा : राहुल गान्धी

भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले कोरोनाविरुद्धको लडाइँमा भारत सरकार उल्टो दौडमा रहेको आरोप लगाएका छन् । उनले भाइरस नियन्त्रणका लागि सरकार गम्भीर नभएकाले महामारी जित्न नसकिने दाबी गरे । एकै दिन हालसम्मकै बढी संक्रमित देखिएपछि ट्वीट गर्दै गान्धीले सरकारको कार्यशैली गलत भएको आरोप लगाएका हुन् । कोरोना भाइरस नियन्त्रणमा सरकारी रवैयाप्रति उनले बारम्बार आलोचना गर्दै आएका छन् । गान्धीले सरकारको लकडाउन नीति पनि पूर्ण रूपमा असफल भएको प्रतिक्रिया दिएका छन् । पछिल्ला तथ्यांकहरूका आधारमा भारत केही साताभित्रै बेलायत तथा अमेरिकाको अवस्थामा पुग्ने देखिएको उनको भनाइ छ । उनले लकडाउन नीति असफल भएकाले महामारी रोक्नका लागि विकल्प खोज्न सरकारलाई सुझाव दिए ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार