प्रहरीको गाेलीबाट अर्का अश्‍वेत नागरिक मारिएपछि अमेरिकामा आन्दोलन झन् चर्कियो……

एटलान्टा — जर्ज फ्लोयडको मृत्युपछि चर्किएको आन्दोलन सेलाउन नपाउँदै अमेरिकी प्रहरीको गोली लागि अर्का एक जना अश्वेत नागरिकको ज्यान गएको छ । शुक्रबार अमेरिकाको एटलान्टामा अश्वेत नागरिक २७ वर्षीय रेशर्ड ब्रुक्सको प्रहरीको गोली लागि मृत्यु भएको हो । एटलान्टाको एउटा रेस्टुरेन्टबाहिर कारमै सुतिरहेका बेला रेशर्डलाई गोली हानिएको बताइएको छ । तर प्रहरी प्रशासनले भने आफूहरुमाथि आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीमा उनी मारिएको दाबी गरेको छ । जर्जिया ब्युरो अफ इन्भेस्टिगेसन(जीबीआई) अनुसार ब्रुक्सले सडक नै जाम हुने गरी कारमा निदाएकाले प्रहरीलाई रेस्टुरेन्टनजिक बोलाइएको थियो । प्रहरीको दाबी मान्ने हो भने रेशर्डले मादक पदार्थ पनि सेवन गरेका थिए । र उनले हिरासतमा जान मानेका थिएनन् । साथै रेशर्डले प्रहरीलाई ‘टेजर गन’ देखाएर भाग्न खोजेपछि गोली हानिएको जीबीआईले दाबी गरेको छ । प्रहरीको गोली लागि घाइते भएका रेशर्डलाई उपचारका लागि अस्पताल ल्याइएको र त्यहीँ उनको मृत्यु भएको पनि अधिकारीहरुले दाबी गरेका छन् । ब्रुक्सको मृत्युपछि एटलान्टा प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छिन् । उनले शनिबार एटलान्टाकी मेयर केइसा लान्स बटम्सलाई राजीनामा बुझाएकी हुन् । मेयर बटम्सले शिल्ड अन्य जिम्मेवारीमा रहने जानकारी दिइन् । एरिका शिल्ड्स सन् २०१६ देखि एटलान्टा प्रहरीको प्रमुख थिइन् । त्यस्तै ब्रुक्समाथि गोली प्रहार गर्ने दुई जना प्रहरीको नाम र तस्बिर पनि एटलान्टा प्रहरीले सार्वजनिक गरेको छ । एटलान्टा प्रहरीका अनुसार ग्यारेट रोल्फ र डेभिन ब्रोन्सनलाई यसअघिको जिम्मेवारीबाट मुक्त गरिएको छ । ब्रोन्सनलाई प्रशासनमा सरुवा गरिएको रोल्फलाई निलम्बित गरिएको छ । एटलान्टामा ब्रुक्सको हत्या गरिएको भन्दै सडकमा प्रदर्शन भइरहेको छ । केही ठाउँमा हिंसात्मक प्रदर्शन समेत भइरहेको छ । मे २५ मा मिनियापोलिसमा एक प्रहरी अधिकारीले नियन्त्रणका क्रममा जर्ज फ्लोयडको घाँटी थिचेका थिए । त्यसको केही बेरमै फ्लोयडको मृत्यु भएको थियो । त्यसपछि अमेरिकाभर विश्वका विभिन्न देशमा विरोध प्रदर्शन भइरहेको छ । जर्ज फ्लोयडको समर्थनमा चर्किएको आन्दोलन सेलाउन नपाउँदै प्रहरीबाट अर्का अश्वेत नागरिक रेशर्ड ब्रुक्सको मृत्यु भएपछि अमेरिकामा यसले झन् तनाव सिर्जना गरेको छ । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार