सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्मलाई रोक लगायो……

काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन् । यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो । चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि जेठ १८ र जेठ १९ देखि वैशाख ३२ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । यी निर्णय मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको हो । व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ । हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन् । यसैबीच विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले अनुमति दिएपछि आइतबार नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, निगमको वाइडबडी विमान २ सय ५८ नेपालीलाई बोकेर साँझ ६:२० मा काठमाडौंमा अवतरण भएको थियो । लकडाउन सुरु भएयताको यो १ सय २४ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो । यी यात्रुलाई नेपाली सेनाले काठमाडौंमा बनाइएका ७ वटा प्रदेशका क्वारेन्टाइनमा पुर्‍याएको थियो । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार