वडाध्यक्ष मल्लको बयान : केटालाई नियन्त्रणमा लिएर राखेको हुँ, तर कसले मार्‍यो थाहा भएन !……

काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनाका प्रतिवादी वडाध्यक्ष समेत रहेको डम्बर बहादुर मल्लले घटना भएका दिन आफू धानको बिउ राख्न खेतबारीमा गएको बताएका छन् । उनले सो दिन खेतको काम सकेर अपरान्ह अन्दाजी ४,५ बजे वडा कार्यालय नजिककोे क्वारेन्टिन व्यवस्थापनमा खटिएको टीमलाई सल्लाह दिन गएका बेला जाजरकोटबाट नवराज विक सहितका केटाहरु आफ्नो गाउँमा आउँदै गरेको भन्ने सूचना पाएको बताएका छन् । वडाध्यक्ष मल्लले आफू क्वारेन्टिनमै रहेको अवस्थामा अर्का प्रतिवादी टोप बहादुर मल्लले फोन गरेर जाजरकोटबाट २०,२५ जना केटा गाउँको ढुङ्गेखालीतिर आएको सूचना दिएपछि त्यो सूचना प्रहरीलाई दिएको पनि बताएका छन् । मल्लले इलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरेर ढुङ्गे जाजरकोटबाट आएका केटाहरुलाई नियन्त्रणमा लिन भनेको र सोही समयमा वडा सदस्य गोरखे घर्तीसँग समेत कुरा भएर प्रहरीलाई जानकारी दिएको प्रहरीले अदालतमा दायर गरेको बयानमा उल्लेख छ । ‘जाजरकोटका केटाहरु आएका छन् । गोइरी गाउँतिर जाँदै छन् । कति जना केटाहरु छन् ? गन्ती गर्नु निगरानी गर्नु भनेको थिएँ’, घटनाबारे अदालतमा दायर भएको आरोपपत्रमा मल्लको बयानमा भनिएको छ । त्यसपछि डम्बरले नेत्र बहादुर मल्लसँग फोनवार्ता गरेर नगरपालिकाका स्वमसेवकहरुसँग कुरा गरेर उनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भनेर आफू क्वारेन्टिनबाट सोझै गाउँतिर गएको बयान दिएका छन् । ‘गाउँतिर गएपछि मान बहादुर मल्ल या नेत्र बहादुर मल्ल मध्ये एक जनाले मलाई फोन गरी केटाहरु औलतिर झर्दै छन् भन्ने जानकारी गराएको तर मैले त्यति बेला केटाहरुलाई गाउँमा देखिनँ’, मल्लले घटनाविवरणबारे भनेका छन्, ‘सोही सूचनाको आधारमा म केटाहरु खोज्दै जाँदा घटनास्थल भएको मध्यपहाडी सडकमा पुग्दा एक जना स्याला घर बताउने कार्की थर भएको केटालाई प्रेम बहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको हुँ ।’ त्यसक्रममा उनले दौडादौड भएको र आफूसहित प्रेम बहादुर मल्लले नियन्त्रणमा लिएको केटालाई गाउँबाट लिएर झर्ने क्रममा प्रहरीले फोन गरेको र घटनास्थलमा प्रहरीसँग भेट भएको बताएका छन् । ‘हामीले नियन्त्रणमा लिएको एक जना केटालाई प्रहरीको जिम्मा लगाएका हौं, प्रहरी आइसकेपश्चात मात्र स्वम् सेवक समेतको टोली घटनास्थलमा आइपुगेको थियो’, मल्लले बयानमा भनेका छन्, ‘बाँके घर बताउने २ जना केटाहरुलाई समेत ल्याइयो र अन्तमा ४ जना केटाहरु ल्याई ७ जना केटाहरुलाई प्रहरीले बाटोमा ल्याइ सँगै राखेका हुन् ।’ ती केटाहरु मध्ये दाह्री पालेको मोटो केटालाई मुखमा चोटपटक लागेको देखेको पनि उनले बयानमा भनेका छन् । बयानका क्रममा उनले प्रेम बहादुर मल्ल, डिल्ली मल्ल, मान बहादुर मल्ल, तुल बहादुर मल्ल, समेतलाई देखेको र नदीपारी समेत मान्छेहरु हिँड्दै गरेको देखेको तर ५ जना केटाहरु नदी पारी फेला परेको पछि सुनेको बताएका छन् । ‘म घटनास्थल पुगेपछि अन्त्यमा ३ जना मानिसहरु भेरीमा बगे भन्ने कुरा प्रेम बहादुर मल्ल र तुल बहादुर मल्लले भनेपछि सुनेको हुँ’, उनले आफूले कसैलाई कुटपिट नगरेको दावी समेत गरेका छन्, ‘मृतक नवराज बिकसमेत निजसँग रहेका ६ जना मृतकलाई कसले कर्तव्य गरी मार्यो मलाई थाहा भएन’, जेठ २६ गते प्रहरीलाई दिएको बयानमा मल्लले भनेका छन् ।श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार